१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

दही चिउरासँगै गुञ्जिए ढकालका कविता


१६ असार, पाेखरा ।  साहित्यका माध्यमबाट शैक्षिक, सामाजिक, पर्यटकीयलगायतका क्षेत्रमा योगदान पु¥याउने लक्ष्यका साथ पोखरेली युवा साहित्यकारको सक्रियतामा गठित ‘पुछार सिटे अभियान’को संयोजनमा पोखरामा कवि अर्जुन ढकालको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार देशका विभिन्न स्थानमा रोपाइँ महोत्सव चलिरहँदा पोखराका काव्यप्रेमीको एउटा जमात भने कविता वाचनमा जुटेको थियो । कविताकै हिलो खेल्ने, कविताकै कोदाली चलाउने र कविताकै रोपाइँ गर्ने उद्देश्यले दही चिउरासँगै कवि ढकालको एकल कविता वाचन आयोजना गरिएको अभियानका संयोजक सञ्जीव पौडेलले जानकारी दिनुभयो । दोस्रो संस्करणको एकल कविता वाचन कार्यक्रममा विशेष क्षमता भएर पनि ओझेलमा परेका सर्जकलाई उभ्याइने गरिएको छ ।

 

कार्यक्रमको शुरुआतमा अधिकार प्राप्तिको आन्दोलनमा थुप्रै राष्ट्रभक्तले शहादत प्राप्त गरे पनि त्यसको अवमूल्यन भएको सङ्केत गर्दै कवि ढकालले भन्नुभयो,

केही हुँदैन–
मान्छे नै मान्छेको समाजबाट
एउटा मान्छेको उत्सर्ग हुँदा
आकाशको जून झरेर सती जाँदैन
यत्ति न हो –
मतपेटिकामा एउटा मत खस्दैन ।

नेपाली राजनीतिको अराजनीतिक चरित्रमाथि प्रहार गर्दै वाचन थाल्नुभएका ढकालले परिवर्तनका लागि ठूलो योगदान दिए पनि लोकतन्त्रले जनतालाई केही दिन नसकेको उल्लेख गर्दै भन्नुभयो,

मुलाङ अर्जुन
हिजडा कुखुरो पालेर
तेरा थाप्लामा
समृद्धि आउने वाला छैन
अब एउटा प्रौढ गोरु किन
च्यवनप्रास खुआ
मस्त जोत्
तेरा हत्केलामा
रामराज्यको नीलो मानचित्र कोरिनेछ ।

राज्यले आफ्नो देशभित्र रोजगारका अवसर सिर्जना गर्नतिर नलागी युवालाई विदेश लखट्ने नीति लिएकामा असन्तुष्टि व्यक्त गर्दै कविले ‘भरिया डट कम’ कवितामार्फत भन्नुभयो,

एक्सपोर्ट क्वालिटीका
भरियाहरू उत्पादन गर्ने
यो मुलुकका
हरेक घरमा
सञ्चालित छन्– कुटिर उद्योेगहरू
एकातिर युवा देशमा रहँदैनन् त अर्कातिर

गड्गडाहट तालीका बीचमा उहाँले कहिले गाउँ रित्तिएका व्यथा सुनाउनुभयो भने कहिले सिरियाको युद्धमा सिकार बनेका बालबालिकाका चित्कार प्रस्तुत गर्नुभयो । मानिसले सुन्दर प्रकृतिको पुजारीका रूपमा रहेको गिद्धलाई संरक्षण गर्न नसके मानव जीवन र पृथ्वीकै अस्तित्व सङ्कटमा पर्न सक्ने चेतावनी दिँदै उहाँले भन्नुभयो,

मनुवा,
हरियो बस्तीबाट किन छोड्यौ
कार्बनको कालो मुस्लो ?
के तिम्रो गायत्रीमा
कालो कार्बन छ ?
के तिम्रो संस्कारमा
कालो कपट छ ?
के तिम्रो कलेजोमा

एकातर्फ युवा पलायन र अर्कातर्फ राज्यलाई भ्रष्टको अखडा बनाई देश खोक्रो पारिएको भन्दै ढकालले कर्मचारीतन्त्रमाथि पनि कवितामार्फत आक्रोश पोख्नुभयो,

खर्दार साब
तिमी नै
अनागरिकलाई नेपाली बाउ खोजिदिन्छौ
हातमा वंशजको नागरिकता थमाइदिन्छौ
तिमी नै त हौ नि

अर्जुनका कविता चाखपूर्वक सुन्नुभएका साहित्यकार सरु भक्तले बहुविषयलाई गम्भीर रूपमा उठान गर्दै भावको गहिराइमा पु¥याउने सामथ्र्य कवि अर्जुनमा आफूले देखेको धारणा राख्नुभयो ।

अर्जुनले जस्तै जीवनजगत्प्रतिको फरक दृष्टिकोणसहितका सबल कविता निरन्तर लेखिरहन उहाँले सबै स्रष्टालाई आग्रह गर्नुभयो । सो अवसरमा ढकालले ‘भरिया डट कम’, ‘मुलाङ अर्जुन’, ‘हरायो’, ‘पसिनाको अर्थशास्त्र’, ‘शहादत’, ‘गिद्ध गाथा’, ‘खर्दार सा’ब’, ‘फैसला’लगायतका एक दर्जन कविता सुनाउनुभएको थियो ।रासस

प्रकाशित मिति : १६ असार २०७६, सोमबार १९:५७