११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

आपसमा दोषारोपण नगरौँः सभामुख महरा


१६ असार, काठमाडाैँ । सभामुख कृष्णबहादुर महराले लोकतन्त्र र गणतन्त्रका लागि योगदान गरेका दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढाउनुपर्ने बताउनुभएको छ । पूर्वसांसद मञ्च, नेपालद्वारा ६१औँ संसद् दिवसका अवसरमा आज  आयोजित कार्यक्रममा उहाँले विगतको अनुभवबाट वर्तमानको चुनौतीलाई पार लगाउँदै अनुकूल र सम्भावनायुक्त भविष्यको मार्ग सुनिश्चित गरेर अघि बढ्न सक्नुपर्छ भन्नुभयो ।

सभामुख महराले भन्नुभयो, “विगतको कमी कमजोरीलाई लिएर एकआपसमा दोषारोपण गर्ने होइन, कसको कारणले संसदीय अभ्यास धरापमा परेको हो, त्यसको समीक्षा गरौँ । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पूर्व र वर्तमान सांसद मिलेर नेपाली जनताको उज्वल भविष्यको रेखा कोर्नुपर्छ भन्नुभयो । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कतिपय दलका शीर्ष नेताबाटै संसदीय व्यवस्था र अभ्यासबारे गरिएको टिप्पणीले आम जनतामा दुविधा उत्पन्न गरेको मात्र नभई द्वन्द्वको खतरा र विश्वास गुम्ने हो कि भन्ने शङ्का पैदा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सबैले संविधान बनाएका थियौँ, संसदीय व्यवस्था र लोकतन्त्रलाई स्थापित गरेका थियौँ, त्यसको सुन्दर पक्ष कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको शक्ति पृथकीकरण र सँगसँगै हिँड्नसक्ने तीनवटै अङ्गको भूमिका, स्वतन्त्रता र समन्वयको सम्मान गरिनुपर्दछ । ”

पूर्वसभामुख तारानाथ रानाभाटले मुलुकको विकास र समृद्धिका लागि संसद्वादी राजनीतिक दलबीच निरन्तर सहमति र सहकार्य आवश्यक छ भन्नुभयो । राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले परिवर्तनकारी राजनीतिक दल चुनौतीको सामना गर्न एक ठाउँमा उभिएनन् भने अप्ठ्यारोको सामना गर्नुपर्दाेरहेछ भन्ने विगतको तीतो अनुभवबाट संविधानको मर्म र भावनाअनुरुप लामो समयसम्म सहकार्य र एकता कायम गरेर अघि बढ्नुको विकल्प छैन भन्नुभयो ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले लोकतन्त्रका पक्षधरबीच सहमति र सहकार्यको संस्कृतिलाई जीवन्त राख्नुपर्नेमा त्यो नगरेका कारण जनता सरकारले अघि बढाएको विभिन्न विधेयकका विरुद्धमा सडकमा उत्रन बाध्य भएको तर्क प्रस्तुत गर्नुभयो । पूर्वसांसद मञ्चका कार्यवाहक अध्यक्ष झलकनाथ वाग्ले, उपाध्यक्ष गोविन्दबहादुर शाह र महासचिव शङ्करनाथ अधिकारीले सक्षम संसद्, सक्रिय सांसद जनताको चाहना भएको हुँदा त्यसअनुरुप कार्यसम्पादन गर्न वर्तमान सांसदलाई सुझाव दिनुभयो ।

सो अवसरमा मञ्चद्वारा वार्षिकरुपमा प्रकाशित बुलेटिनको चौथो अङ्क लोकार्पण गरिएको थियो । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पहिलोपटक २०१५ सालमा भएको संसदीय निर्वाचनमा विजयी भएका सांसदले शपथ लिएको दिन असार १६ गतेलाई संसद् दिवसका रुपमा मनाउने गरिएको छ । उक्त निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि बिपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित मन्त्रिपरिषद् गठन भएको थियो । राजा महेन्द्रले उक्त मन्त्रिपरिषद्लाई विघटन गरी नेताहरुलाई जेल हाल्नुका साथै मुलुकमा एकदलीय पञ्चायती व्यवस्था लागू गरेका थिए ।रासस

प्रकाशित मिति : १६ असार २०७६, सोमबार १५:३२