४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

गल्छी गाउँपालिका अध्यक्ष श्रेष्ठको कन्सट्रक्सन कम्पनीले पैसा नै नतिरी राजस्व तिरेको रसिद लियो


१४ असार, धादिङ । राजस्व छली गर्नु अपराध हो । यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानूनले दण्ड सजायँको व्यवस्था समेत गरेको छ । धादिङको गल्छी गाउँपालिकामा भने राजस्व तिरेको रसिद करदाताले लिएपनि तिर्नु पर्ने रकम भने दाखिला नभएको पार्ईएको छ । गाउँपालिकाका अध्यक्ष रहेका कृष्णहरि श्रेष्ठ एसकेवि कन्ट्रक्शन एण्ड सप्लायर्स प्रा.लि.का एकल संचालक हुन ।

श्रेष्ठको नाममा रहेको कम्पनीले २०७६ जेठ ९ गते कम्युटर रसिद नं०२०२७/२०७५/२०७६ मार्फत आर्थिक बर्ष ०७५/७६ को माघ महिनाको १६५६ प्रति घनमिटर को २० को दरले ३३१२०, फागुन महिनाको २३२४ प्रति घन मिटरको २० को दरले ४६६८०र चैत महिनाको १६७४ प्रति घन मिटरको २० का दरले ३३४८० रुपैयाँ समेत गरी ११३२८० रुपैयाँ राजस्व दाखिला गरेको देखिएपनि रकम भने जम्मा नभएको पाईएको हो । स्थानीय सरकार प्रमुखको हैसियतमा रहेको व्यक्तिबाटै कर छलि भएपछि गाउँपालिकाले लगाएको कर असुली नियम सम्मत हुनेमा शंका उव्जिएको छ ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले अमेरिका जाने प्रयोजनका लागि यस्तो काम गरेको र राजस्व नै नतिरी रसिद लिएका हुन ।

सिनं०००२०३७ रहेको गाउँपालिकाको आम्दानी रसिदबाट २०७६ जेठ ९ गते एसकेवि कन्ट्रक्शन एण्ड सप्लायर्स प्रा.लि तथा कृष्णहरि श्रेष्ठ गल्छी गाउँपालिका वडा नम्बर ६ बाट एक लाख १३ हजार दुई सय ८० रुपैयाँ आम्दानी भएको देखिएपनि करदाताले रकम भुक्तानी नगरिदिंदा राजस्व दाखिलामा समस्या भएको गाउँपालिका लेखा शाखाले जनाएको छ ।

रसिदमा उल्लेख भए अनुसार एसकेवि कन्ट्रक्शन एण्ड सप्लायर्स प्रा.लि तथा कृष्णहरि श्रेष्ठ गल्छी गाउँपालिका वडा नम्बर ६ ले तीन महिनाको अवधिमा बालुवा खानीबाट ५६ सय ६४ घन मिटर वालुवा बिक्री गरेवापत सो रकम गाउँपालिकालाई राजस्व तिरेको हो । अध्यक्ष श्रेष्ठका छोरा सुरेन्द्र श्रेष्ठ कर तिर्नका लागि भन्दै गाउँपालिकामा आई हिसाव बुझाएर राजस्वको रसिद बुझिलिई रकम भने बाबु्ले तिर्ने भन्दै गएका थिए ।

यता अध्यक्ष श्रेष्ठले छोराले गरेको कारोवार छोरा संगनै मिलाउनु भन्दै रकम तिर्न नमानेपछि गाउँपालिकाका कर्मचारी समेत अप्ठ्यारोमा परेका छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठको नाममा रहेको यस कम्पनीले नयाँ बालुवा प्रशोधन गर्ने उद्योग (फिरफिरे ) संचालनका लागि घरेलु तथा साना उद्योग कार्यालयमा दर्तामा जानेक्रममा कच्चा पदार्थ उपलव्ध गराउने सिफारिस दिने गर्दछ । खानी विभागबाट वालुवा उत्खननको अनुमति पाएको यस कम्पनीले नयाँ फिरफिरेलाई सिफारिस दिंदा प्रति उद्योग ३ लाख रुपैयाँ सिफारिस दस्तुर लिने गर्दछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले दैनिक आम्दानी तथा राजस्वका बिषयमा आंफुलाई सबै जानकारी नहुने भन्दै लेखाशाखाका प्रमुखलाई सोध्न भनेका छन । लेखा अधिकृत आनन्दकुमार खड्काले रसिद काटिएको स्विकार गर्दै कर तिर्न अध्यक्ष नभई उहाँको छोरा आएको र रसिद पनि उनैले लगेको हुँदा तत्काल रकम भुक्तानी गर्न उनलाई कार्यालयमा वोलाईसकिएको जवाफ दिए ।

रसिद काटेर रकम भुक्तानी नभएको हो भने अध्यक्ष अमेरिकाबाट फर्कना साथ सो रकम उठाईने प्रमुख प्रशासकीय अधिकृत ऐडीले जानकारी दिए । अध्यक्ष श्रेष्ठ असार ५ गते अमेरिकामा रहेका छोरा छोरीलाई भेट्न भन्दै अमेरिका गएका छन । असार २५ गते उनि नेपाल फर्कने कार्यक्रम रहेको छ ।

राजस्व बापत तिरेको रकम भुक्तानीमा ढिलाई गर्नु गैर कानूनी कार्य हुने र रकम नतिरि रसिद लिएर जानेलाई सरकारी कागजात किर्तेको आरोपमा कारवाही हुन सक्ने र भुक्तानी हुन बाँकी रहेको रकम बराबरको विगो तिर्नु पर्ने कानूनी व्यवस्था रहेको छ । तत्कालिन नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का जिल्ला सदस्य समेत हुन । उनि यस अघि २०५४ सालमा पनि बैरेनी गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ११:५१