१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

प्रहरी प्रमुखज्यू, राज्यका वन्दुक र गोलीको दुरुपयोग गरेर इन्काउन्टरका नाममा हत्या कहिलेसम्म ?


–मातृका दाहाल

नेपाल प्रहरीले गतसाता यौटा सनसनीपूर्ण तर पत्याउँनै कठिन लाग्ने घटना सञ्चारमाध्यम मार्फत सार्वजनिक ग¥यो, घटना थियो– प्रतिवन्धित नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल दोहोरो भिडन्त (इन्काउन्टर)मा मारिए । प्रहरी दावी थियो, –उनले सादा पोशाकका प्रहरीमाथी फायर चलाएपछि आत्मरक्षाका लागि गरिएको जवाफी कारबाहीमा उनी मारिए ।

सरसर्ती हेर्दा प्रहरीको दावी सनसनीपूर्ण र प्रहरीले ‘उपलव्धी’का रुपमा लिएको उक्त घटना सामान्य मानवीय कानुनको समेत ख्याल नगरिएको र बर्बरताको पर्याय नै थियो भन्दा अन्यथा हुँदैन । ज्यान जानेगरी पौडेलमाथी भएको बर्बरतापूर्ण घटना जायज र प्रहरीमाथी आइलागेपछिको कारबाही भन्दै संसदको राज्यव्यवस्था समितिमै आइजीपी सर्वेन्द्र खनालले ढाकछोप मात्रै गरेनन् । उनी आपराधिक पृष्ठभूमिका व्यक्ति समेत भएको दलिल आइजीपी खनालले पेश गरे । आइजीपी खनालकै स्वरमा संसदीय समितिमा पौडेल लोडेड पेस्तोल सहित फेला परेको र जवाफी कारबाहीमै मारिएको दावी गरे ।

तर पूर्व गृहमन्त्री तथा सांसद जनार्दन शर्मा सहित सांसदहरु रेखा शर्मा, यसोदा सुवेदी लगायतले पौडेलमाथी भएको गोलीप्रहार हत्याकै रुपमा चित्रण गरे । कांग्रेस सांसद मीना पाण्डेले पौडेललाई प्रहरीले पेसेवर अपराधीलाई पैसा दिएर मार्न लगाएको आशंका गरिन । भिनन्, ‘पौडेललाई यातना दिएर बर्बर तरिकाले हत्या गरिएको कुरा शवबाटै पुष्टि हुन्छ ।’ सत्ता र प्रतिपक्षी दलका सांसदको दावीलाई राष्ट्रिय मानवअधिकार आयोगले पनि त्यस्तै किसिमको प्रारम्भीक निष्कर्ष निकाल्दै इन्काउन्टरका नाममा हत्या भएको आशंका सार्वजनिक गरिसकेको छ । आरोप लगाउँने सांसदहरु र मानवअधिकार आयोगको दावी र पौडेलमाथी भएको गोली प्रहारको स्थानबीचको तालमेल पनि मिल्दो छ । पौडेल लालबन्दी नगरपालिका–१ को लखन्ती खोलानजिकै मारिएका हुन् । शवको अवस्था निलडाम । हात भाँचिएको । तर प्रहरी भन्छ दोहोरो फायरिङमै मारिएका । के प्रहरी दाबी सत्यतामा आधारित छ ?

सरकारले विप्लव नेतृत्वको नेकपामाथी गतवर्ष फागुन २८ गते प्रतिवन्ध लगाएसँगै प्रहरीले विशेष सुरषा कार्यदलका नाममा सुराकी परिचालन गरेको छ । हेडक्वार्टर, प्रदेश, साविकका अञ्चल (हाल संघीय इकाइ) र जिल्ला प्रहरीका संयन्त्रबाट पनि विप्लव समूहका गतिविधि नियन्त्रणमा सादा पोशाकका प्रहरी तैनाथ गराइएको छ । त्यसमध्येको एउटा खुफिया टोली आइजीपी मातहतको विशेष व्यूरोबाट तैनाथ गराइएका छ । विशेष व्यूरो मार्फत आइजीपी खनालले विवादास्पद इन्स्पेक्टरको कमाण्डमा सुराकी टोली तराइका जिल्लामा खटाएका छन् ।

उपलव्ध तथ्य, प्रमाण र नाम नबताउँने शर्तमा आएका स्रोतका अनुसार इन्काउन्टरपनि हेडक्वार्टरबाट गएको टोलीले नै गरेको हो । जुन इन्काउन्टर भनिएको गोली प्रहारबाट कुमार पौडेल मारिए । सर्वत्र विवादको घेरामा परेको इन्काउन्टर आदेश पनि माथीबाटै गएको हो । विशेष व्यूरो आइजीपी मातहतको प्रहरीको सबैभन्दा शक्तिशाली व्यूरो मानिन्छ । आतंकवाद नियन्त्रण मूख्य जिम्मेवारी पाएको व्यूरोका हरेक कामकारबाही आइजीपीको आदेशविदा चल्दैन ।

त्यही व्यूरोकै सदस्यबाट भएको इन्काउन्टर विवादमा परेपछि के अब आइजीपी खनालमाथी छानविन नगर्ने ? सक्कली इन्काउन्टर भए प्रश्न उठाइरहनु पर्दैन । उठाउँने विषय पनि होइन । तर विवाद र प्रश्न उठिसकेको संकास्पद इन्काउन्टरको वैधता जाँच्न अब आदेश दिने र आदेश पालना गर्नेमाथी छानविन गर्ने कि नगर्ने ? आइजीपीको बर्दी भएकै कारण आदेश दिनेमाथी छानविन नगर्ने हो भने यस्ता आदेश भोलीका दिनमा काम देखाउँने नाममा धेरै आउँन सक्छन् । अन्य कुमार पौडेलहरुमाथी अझै धेरै इन्काउन्टर हुन सक्छन् ।

गत साउनमा भक्तपुरमा ११ वर्षीय बालकको अपहरणपछि भएको हत्याकाण्डमा पनि प्रहरीले दुई मजदुरलाई इन्काउन्टरका नाममा सफाया गरेको आरोप लागेको थियो। त्यतिबेला गोपाल तामाङ र अजय तामाङ मारिएका थिए । भक्तपुरको डोलेश्वर जंगलमा भिडन्तमा मारिएका भनिएका ती दुईजनालाई भक्तपुरको ठिमीस्थित निर्माणाधीन घरनजिकैको डेराबाट पक्राउ गरेर जंगलमा मारिएको बयान स्थानीयले दिएका थिए। पछि सो घटना त्यत्तिकै सेलायो, तत्कालीन नेकपा एमालेनिकट युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको २०७३ पुस ४ गते भएको हत्यामा संलग्न भनिएका मनोज पुन र सोमबहादुर आले २०७४ फागुन ९ गते मुठभेडमा मारिएको प्रहरीको दाबी छ। गोवामा भएको भनिएका पुन र आलेलाई नियन्त्रणमा लिएर मारिएको भन्दै विरोध भएको थियो।

यसैगरी २०७१ साउन २१ मा तत्कालीन गुन्डा नाइके चरी उपनामले चिनिएका दिनेश अधिकारी महानगरीय प्रहरी अपराध महाशाखाको कारबाहीमा भीमढुंगा जंगलमा मारिएका थिए। प्रहरीले उनी दोहोरो भिडन्तमा मारिएको दाबी गर्दै आएको छ। त्यसको एक वर्षपछि २०७२ भदौ ३ गते अर्का गुन्डा नाइके कुमार घैंटे भनिने कुमार श्रेष्ठ सामाखुसी कपुरधारामा मारिए ।

जवाफी कारबाहीका नाममा राज्यका वैधानिक वन्दुक र गोलीको दुरुपयोग धेरैपटक धेरै ठाउँमा भएका तथ्य र प्रमाणहरु छरपष्ट नै छन् । कोही मानिस अपराध कर्ममा संलग्न छ भन्दैमा पक्राउ गरेर कानुनी दायरामा ल्याउँने बाटो हुँदा हुँदै नेपाली चर्चित उखान ‘न रहे बाँस, न बजे बाँसुरी’ झैं अपराधको मूल नै मासेपछि टण्टै साफ भन्ने नीति प्रहरीले सुधार्न आवश्यक छ । प्रहरीले गरेका राम्रा कामको सबैले स्याबासी दिनै पर्छ तर मान्छे नियन्त्रणमा लिएर मार्ने अनि त्यसलाई ठीक हो भनेर मिडिया र आम सर्वसाधारणले पत्याइदिनुपर्ने प्रहरी नेतृत्व लगायतका अधिकृतको अपेक्षालाई सही मान्न सकिदैन ।

मृत्युदण्डको समेत कानुन नभएको देशमा घुमाउरो रुपमा अमुक व्यक्तिमाथी मुठभेडका नाममा च्याप्प समाएर गोली बर्साउँने र वन्दुकको दुरुपयोग गर्ने अधिकार प्रहरीलाई छैन । पछिल्लो पटक कुमार पौडेलमाथी भएको संकास्पद मुठभेडमाथी न्यायिक छानविन हुनुपर्छ । गोली हान्न आदेश दिने र गोली हान्नेमाथी निष्पक्ष छानविन हुनै पर्छ । इन्काउन्टर काण्ड थप उत्कर्षमा पुग्दा आदेश पालना गर्नेमाथी कारबाही गरेर आदेश दिनेले उन्मूक्ति नपाउँन् ।

(दाहालको यो विचार उनकै ब्लग मातृका दाहाल डटकमबाट अनुमति लिएर साभार गरिएको हो ।–सम्पादक)

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ०८:२४