७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

साहित्यिक पत्रिकामा व्यावसायिकताको बहश


१३ असार, काठमाडौँ । शमी साहित्य प्रतिष्ठानले आज आयोजना गरेको “साहित्यिक पत्रिकाका भावी रणनीति र स्थायित्वका आधार” विषयक गोष्ठीमा साहित्यिक पत्रिकाको दिगो भविष्यका लागि व्यासावयीकरण गरिनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा लामो समयदेखि सेवाभावले साहित्यिक पत्रिका प्रकाशनरत ‘रचना’ र ‘अभिव्यक्ति’ का सम्पादकहरु रोचक घिमिरे र नगेन्द्रराज शर्माले नयाँ पुस्ताले व्यावसायिक सोचका साथ साहित्यिक पत्रकारिता गरेमा इतिहासको बिँडो थामिने बताउनुभयो ।

नेपालमा पत्रकारिताको थालनी साहित्यिक पत्रिका ‘सुधार सागर’ बाट भए पनि हाल यस क्षेत्रले उपेक्षा भोगेको र सरकारले मूलधारका पत्रिकालाई जस्तै कर्मचारी नियुक्ति र तलव दिएको निस्सा दिएपछि मात्रै वर्गीकरणमा राख्ने नीति लिनुले चिन्तित तुल्याएको उहाँहरुको गुनासो थियो । शर्मा नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष र घिमिरे निवर्तमान अध्यक्ष हुनुहुन्छ । कार्यपत्र प्रस्तुत गर्दै सम्पादक घिमिरेले भन्नुभयो, “नेपालका राजनीतिक परिवर्तनमा पनि योगदान गरेको साहित्यिक पत्रकारितालाई राज्यले उपेक्षा गर्न मिल्दैन । साहित्यिक पत्रकारिताले जहिले पनि समाजमा चेतनावृद्धि गरिरहेको छ तर यस्ता पत्रिकालाई वितरणका लागि विश्वसनीय निकाय र संयन्त्रको अभाव खड्किएको छ ।”


उक्त गुनासो सुनेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् दीनानाथ शर्माले साहित्यिक पत्रकारले पनि अनुदान होइन अधिकार हो भन्ने खोज्नुपर्ने स्थिति सिर्जनाका लागि कानूनी व्यवस्था परिवर्तन गर्न सहयोग गर्ने वचन दिनुभयो । शमी साहित्य प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री प्रदीप नेपालले प्रतिष्ठानले जोखिम मोलेर ‘शमी’ साहित्य मासिक पत्रिका निकाल्ने तयारी गरिएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्यम लेकालीले साहित्यिक पत्रिकालाई अन्याय जारी रहेका दबाबमूलक कार्यक्रम पनि पछि हट्न नहुनेमा जो दिनुभयो ।

‘कलाश्री’ पत्रिकाका सम्पादक मोमिलाले ठूला व्यावसायिक संस्थाले मुनाफाको पाँच प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीति रहेको स्थितिमा साहित्यिक पत्रकारिता क्षेत्रलाई सामाजिक उत्तरदायित्वमा पार्न लाग्नुपर्ने सुझाव दिनुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मीधर गुरागाईँले अखबारी पत्रकारिताको दृष्टिमा सौतेनी व्यवहार भएकाले पुराना साहित्यिक पत्रिकाहरु पनि घिसिपिटी गरेर वामे सरिरहेको स्थितिमा ‘शमी’ पत्रिका नयाँ स्वरुपमा आउने जनाउनुभयो ।

गोष्ठीमा प्राज्ञ माया ठकुरी, राष्ट्रिय समाचार समिति (रासस) का पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेत, ‘जनमत’ मासिकका सम्पादक मोहन दुवाल, प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधि सन्ध्या पहाडी, स्रष्टाहरु हिरण्यकुमारी पाठक, ठाकुर बेल्वासे, माधव पोखरेल ‘गोज्याङ्ग्रे’, गोपल अश्क, प्रकाश सिलवाललगायतले साहित्यिक पत्रकारितामा व्यावसायिकता र समयसापेक्षता हुनुपर्ने सुझाव दिनुभएको थियो । ‘शमी’ मासिकले आफ्नो पहिलो अङ्कलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी विशेषाङ्क बनाउने घोषणा गरेको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार १८:५०