१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

आइसिसी विश्वकप क्रिकेटः वेस्टइन्डिजमाथि भारतको फराकिलो जित


१३ असार, काठमाडाैँ । इंग्ल्यान्डमा जारी १२औं आइसिसी विश्वकप क्रिकेटमा भारतले वेस्टइन्डिजमाथि फराकिलो जित निकालेको छ । म्यान्चेस्टरमा भएको खेलमा भारत वेस्टइन्डिजमाथि १ सय २५ रनको फराकिलो जित निकाल्न सफल भएको हो । सेमिफाइनलमा स्थान बनाउन दुवै टोलीका लागि महत्वपूर्ण मानिएको खेलमा वेस्टइन्डिजले कमजोर प्रदर्शन गर्दा भारत सेमिफाइनल नजिक पुगेको छ।

समूह चरणका ३ खेल खेल्न बाँकी रहँदा भारत ६ खेलमा ११ अंकसिहत अपराजित छ र उ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। इंग्ल्यान्ड, बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी रहेको भारतका लागि सेमिफाइनलमा पुग्न अब यी ३ टोलीमध्ये एकलाई पराजित गरे पुग्छ।हारसँगै वेस्टइन्डिज भने २ खेल अगावै विश्वकपबाटै बाहिरिएको छ। ७ खेलमध्ये एकमा मात्रै जित निकालेको वेस्टइन्डिज विश्वकपबाट बाहिरिने तेस्रो टोली बनेको छ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार ०८:१८