८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सशस्त्र प्रहरीमा ‘जुका’ नियन्त्रण अभियान, सिपाहीको भत्ता झ्वाम पार्ने अधिकृत कारबाहीमा !


१२ असार, काठमाडाैँ । सशस्त्र प्रहरीमा ‘जुका आतंक’ चलेको छ । ‘जुका आतंक’ले गर्दा सशस्त्र प्रहरीको समेत बद्नाम गरेको छ । यद्यपी संगठनको नेतृत्व सम्हालेपछि ‘जुका आतंक’ विरूद्ध सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल निर्मम ढंगले प्रस्तुत भएका छन । उनले संगठनभित्रकाे विकृति अन्त्यका लागि आफ्नाेअर्काे नभनी काम अघि बढाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीकाे भ्रष्टाचारमा शून्य सहनशिलताकाे नीति संगठनमा पूर्ण रुपमा लागू गराउन लागिरहेका खनालले विकृतिका बारेमा परेका उजुरीको फास्टट्रयाकमा छानविन र कारबाहीको प्रक्रिया अघि बढाउन थालेका छन ।

सशस्त्र प्रहरीका एसपी डिएसपीहरुले रासनमा अनियमितता गरेको भन्दै उजुरी परेपछि खनालकै निर्देशनमा छानविन समिति बनेर अनुसन्धानको काम भैरहेको छ । सशस्त्र प्रहरीका जवानहरुलाई विदा छोडेर अधिकृतहरूले रासनमा अनियमितता गरेको भन्दै हेलो सरकारमा उजुरी परेपछि सोही उजुरीका आधारमा अहिले सशस्त्र प्रहरीले चार अधिकृतका बारेमा अनुसन्धान गरिरहेको छ । सशस्त्र प्रहरी प्रवक्ता सुरज श्रेष्ठका अनुसार दक्षिणकाली गणका एसपी शुरेश श्रेष्ठ, निलवाराही गणका गणपति एसपी नेत्र खत्री,उपत्यका सुरक्षा गणका एसपी राघवसिंह थापा र वाघवैरभ गुल्मपति डिएसपी शुरेश गैरेकाबारे परेको उजुरीमा छानविन समितिले अध्ययन गरिरहेको छ ।

सशस्त्र मुख्यालयले गत साता एसएसपी वंशिधर दाहालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिमा एसपी युवराज अर्याल लगायत सदस्य रहेका छन ।  छानविन समितिले तीन गण र गुल्मको सम्पुर्ण काजजात झिकाएर अध्ययन गरिरहेको बुझिएको छ । छानविनका क्रममा उनीहरूको कमजोरी देखिएको छ भने त्यही कमजोरीमा टेकेर छानविन समितिका एक जना सदस्य युवाराज अर्यालले बार्गेनिङ गरेको समेत बुझिएको छ । अर्यालसँग वयान दिएर अाएका एक जना गुल्म पतिले दैनिकीसँग भने ‘अर्याल सापले मिलाउने हो भने व्यवस्था गर्नुपर्छ नत्र कारबाही हुन्छ है भनेका छन । वयान दिएका छाैँ । केही कमजोरी भएका छन तर प्रकाशमा अाएका सबै कुरा सत्य होइनन ।’

सशस्त्र प्रहरीका प्रवक्ता श्रेष्ठका अनुसार प्रमुख खनालले दोषी दोखिए जोसुकैलालाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिइसकेका छन । खनालले छानविन समितिको पूरा प्रतिवेदनपछि अध्ययन गरेर कारबाही निर्णय लिने बताइएको छ । सशस्त्र प्रहरीमा रासनमा अनियमितता भएको गुनासो नाैलो होइन । हरेकजसो गणमा हुने यो अपराध नियन्त्रणमा निम्ति प्रमुख खनालले लिएको चासोलाई भने सशस्त्रकै केही बाहेकका वरिष्ठ अधिकृतहरूले सकारात्मक रूपमा लिएर सघाइरहेका छन ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार ११:३०