१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विदुर नगरपालिकाको बजेट ८५ करोड ३८ लाख


 १० असार, विदुर । नुवाकोटको विदुर नगरपालिकाले पाँचाैँ नगरसभामा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ८५ करोड ३७ लाख ६१ हजारको बजेट प्रस्ततु गरेको छ । नगरपालिकाका उप–प्रमुख गीताकुमारी दाहालले सो बजेट प्रस्तुत गर्नुभएको हो । विदुर नगरपािलका प्रमुख सञ्जु पण्डितले नगरका हरेक समस्या न्यूनीकरण गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको बताउनुभयो ।

बजेटमा विकास निर्माण, योजना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकूद, बालबालिका, महिला, पर्यटन, संस्कृतिलगायत विषयलाई प्राथमिकता दिइएको बताउनुभयो । यस्तै बजेटमा दलित, उत्पीडित, आदिवासी, जनजाति, महिलालाई विकासको मूलप्रवाहमा ल्याउन जोड दिने कार्यक्रम समावेश गरिएको उहाँले बताउनुभयो । “नगरवासीको स्वास्थ्य सेवालाई ख्याल गर्दै नगर एम्बुलेन्स सेवा शुरुआत गर्ने योजना छ”, पण्डितले भन्नुभयो ।

वार्षिक योजना कार्यक्रम तथा बजेटमा नगरपालिकाको आयतर्फ आन्तरिक स्रोत, सङ्घीय राजश्व बाँडफाँट, सङ्घीय वित्तीय समानीकरण अनुदान, सङ्घीय सशर्त अनुदान, सङ्घीय अनुदान, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानलगायतबाट आम्दानी गरिने उल्लेख छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलवार २०:३२