१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तल्लो मोदी जलविद्युत् आयोजनामा कर्मचारी र व्यवस्थापनबीच सहमति, काम पुन सञ्चालन


९ असार, पर्वत । निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको काम तीन हप्तापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयकोे पहल तथा सांसद पदम गिरीको उपस्थितिमा आन्दोलनरत् कर्मचारी र व्यवस्थापनबीच सहमति भएपछि परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनाको काम सञ्चालन गरिएको हो ।

प्रशासनमा भएको वार्ताका क्रममा आयोजनाको शुरुआतदेखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिस्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कार्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको छ । आयोजनाको विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला विज्ञापन आह्वान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई रु एक लाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।

आयोजनाले २३ जनाको दरबन्दीमा दरखास्त आह्वान गर्दा कार्यरत ४० वर्षभित्रका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउने र प्रतिस्पर्धामा नाम ननिस्केमा प्रोत्साहन रकम पाउने व्यवस्था गर्ने सहमति भएको छ । “लामो प्रयासपछि दुवै पक्षको सहमतिमा आन्दोलन टुङ्गिएको छ”, प्रजिअ नेपालले भन्नुभयो “अब निर्माण कार्य सुचारु हुन्छ ।”

निर्माण कार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने र उपदान दिनुपर्नेलगायतका माग राखेर तालाबन्दी गरेपछि गत जेठ २० गतेदेखि निर्माण कार्य ठप्प बनेको थियो । निर्माण कार्य रोकिएपछि असार पहिलो साता परीक्षण उत्पादन गर्ने तयारीमा रहेको जलविद्युत् आयोजनाको उत्पादन मिति पर धकेलिएको छ । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको सबै काम दुई हप्ताभित्र सम्पन्न गरेर परीक्षण उत्पादन थालिने जनाएको छ ।

टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ । कुस्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातिचौरसम्म खनिएको चार हजार दुई सय मिटर लामो टनेलको बीचमा कमजोर भूभाग भेटिएको थियो । बन्दका कारण मर्मतको काम रोकिएको थियो । रासस

प्रकाशित मिति : ९ असार २०७६, सोमबार २०:३०