१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लव समूहका तीन नेता हतियारसहित पक्राउ


९ असार, विराटनगर । नेत्रविक्रम चन्द विप्लव समूहका तीन कार्यकर्ता हतियारसहित पक्राउ परेका छन । विपल्व समूहले नै घोषणा गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा पूर्वी नेपालको मोरङबाट तीन नेता हतियारसहित पक्राउ परेका हुन । प्रहरीले तीनजनासँग पाँच थान हतियार समेत बरामद गरेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीले उनीहरू चन्दा उठाउँदै हिडेको अवस्थामा पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेमा विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राई, जिल्ला नेताद्धय कंश धिमाल र केन्द्रलाल धिमाल रहेको अधिकारीले बताए ।

आइतबार मोरङको बेलवारी नगरपालिका– ३ स्कुल डाँडामा चन्दा उठाउन हिँडेका सुन्दरहरैचा नगरपालिका–१२ का अशोक राई र कानेपोखरी गाउँपालिका ६ सुदिप भनिने कंश धिमाललाई पक्राउ परेका थिए । उनीहरूको वयानको अाधारमा केन्द्रलाल पनि पक्राउ परेको र उनीहरूको साथबाट को १७ प ४५८६ नम्बरको मोटरसाइकल दुई थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैबीच भोलि असार १० गते विप्लव समूहले आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेलको नियन्त्रणमा लिइ हत्या भएको भन्दै नेपाल बन्दको आह्वान गरेको छ । बन्दले आजित भएका सर्वसाधरणले फेरि पनि दुःख पाउने गरी बन्दको आह्वान भएको भन्दै समाजिक सञ्जालमा चर्को आलोचना भएको छ । नेपाल सधैँका लागि खुला छ बन्द सदाका लागि बन्द गरौँ भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले सामान्य रूपमा दैनिकी सञ्चालन गर्न अपिल समेत गरेका छन ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार १९:३०