८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

 पूर्व राष्ट्रपतिकाे निधन


७ असार,साईप्रस । साईप्रसका पूर्वराष्ट्रपति डेमेट्रिस क्रिस्टोफिआजको ७२ बर्षको उमेरमा निधन भएको छ । उहाँका निजी चिकित्सकले शुक्रबार प्रकाशित गरेको विज्ञप्तिमा उहाँको निधन भएको जानकारी दिइएको छ । असहज महसूस भएपछि उहाँलाई झण्डै दुई हप्ता अगाडी अस्पताल भर्ना गरिएको ती चिकित्सकले बताएका छन् ।

उनीहरुका अनुसार पूर्वराष्ट्रपति क्रिस्टोफिआजलाई लामो समयदेखि स्वासप्रश्वास सम्वन्धी समस्या थियो । उहाँकी एक श्रीमती एल्सी, दुई छोरी र एक छोरा रहेका छन् । उहाँको निधनप्रति विभिन्न नेताहरुले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति निकोस अनास्तासिआडेसले शोक वक्तव्य प्रकाशित गर्दै क्रिस्टोफिआजको निधनले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

फाइल फाेटाे

“उहाँ र म सहयात्री थियौँ, सँगसगै राजनीति गरेका थियौँ, उहाँ जहिले पनि देशको हितका लागि काम गर्नुहुन्थ्यो,” वक्तव्यमा लेखिएको छ । बामपन्थी पार्टीको तर्फबाट साईप्रसमा राष्ट्रपति हुने उहाँ नै पहिलो र एक मात्र नेता भएकाले पनि थप स्मरणीय हुने समाचारमा जनाइएको छ । उहाँ सन् २००८ को फेब्रुअरीमा राष्ट्रपति चयन हुनुभएको थियो भने सन् २०१३ को फेबु्रअरीमा पदमुक्त हुनुभएको थियो ।रासस

प्रकाशित मिति : ७ असार २०७६, शनिबार १७:१०