१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पर्यटनमन्त्री अधिकारीले व्यवसायीलार्इ भने ‘इमान्दार भएर राजस्व तिर्नुस, अन्य जिम्मेवारी सरकारले लिन्छ’


२८ चैत, कास्की ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

पश्चिमाञ्चल होटल संघद्वारा फेवातालको किनारामा अवस्थित कोमागाने पार्कमा आयोजित १५ औँ फेवा नव वर्ष महोत्सवको आज उद्घाटन गर्दै उहाँले पर्यटन विकासका लागि प्रदेश, स्थानीय तह र निजी क्षेत्रको भूमिका अपरिहार्य रहने बताउनुभयो ।

उहाँले भन्नुभयो – “इमान्दार भएर पर्यटन व्यवसायीले राज्यलाई राजश्व तिरिदिनोस्, अन्य जिम्मेवारी सरकारले लिन्छ ।” संख्याको हिसाबमा भन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

भैरहवा, निजगढ, नेपालगञ्ज, जनकपुरलगायतका विमानस्थलहरूको धावनमार्ग बढाएर भारतका विभिन्न शहरसँग सोझै हवाई सम्पर्क कायम गर्न पहल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।  प्रदेश नं ४ का पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रादेशिक सरकारले निकट भविष्यमा ल्याउने नीति, कार्यक्रम तथा बजेटमा पर्यटन विकासलाई जोड दिइने बताउनुभयो । आजदेखि २०७५ वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३० वटा स्टल राखिएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १८:५७