१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नयाँ रोगले कुखुरा मरे, ६० लाख बराबरको क्षति


२८ चैत, चितवन । चितवनमा बर्डफ्लु भन्दा छुट्टै नयाँ रोगले कुखुरा मरेर ६० लाखको क्षति भएको छ । नयाँ रोग एच ९ लो प्याथोजनिक संक्रमणले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ ।

रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् ।

रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् भने पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फार्मका तीन हजार ब्वायलर कुखुरा मरेको छ । कुखुरा मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिइन् ।

द्रोणप्रसाद लामिछानेकोे ४० लाखको क्षति भएको र रामशरण थापाको २० लाख क्षति भएको जनाएका छन् । चैत १५ गतेदेखि यहाँ कुखुरा मर्न थालेको थियो । खोर नै रित्तिएर ठूलो क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा राहतको माग गर्दै निवेदन दिएको लामिछानेले बताए ।

चल्ला हालेको २५ दिनमा कुखुरामा रोग देखिएको बताउँदै थापाले रानीखेत र गम्बारो भन्ने रोग लागेर मरेको जानकारी दिए । थापाले यसरी क्षति बेहोरेका किसानलाई राहत दिन सरकारसँग माग गरेका छन् ।

जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी एवं पशु चिकित्सक डा शिखा तिवारीले अहिलेसम्म जिल्लामा बर्डफ्लु भनेर चिनिने एच ५ भने नदेखिएको तर अन्य विभिन्न रोग कुखुरामा देखिने गरेको बताइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १५:१६