८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विश्वकप क्रिकेटः चिरप्रतिद्धन्द्धी भारत र पाकिस्तान आमने सामने हुँदै


१ असार, काठमाडाैँ । क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी हेर्ने खेल भनेको भारत र पाकिस्तानबीचकै खेल हो । अझ क्रिकेट विश्वकपमा त यी दुई राष्ट्रको खेल हेर्न प्रतिक्षारत नै हुन्छन् दुबै टोलीका समर्थकहरु । इंग्ल्यान्ड र वेल्समा जारी क्रिकेट विश्वकपमा आइतबार यी चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानले आमने सामने गर्दैछन् । यसलाई हेभिवेट खेलको रुपमा हेरिएको छ। ५० ओभरको यो विश्वकपमा अहिले सम्म यी दुई टोलीले ६ पटक भिडन्त गरिसके । ६ वटै खेलमा भारतले जितेको छ । आज हुने खेल उनीहरुको विश्वकपमा सातौं खेल हुनेछ । अहिलेसम्म खेलेका खेलहरु ।

१९९२ विश्वकप
अस्टे«लियाको सिड्नीमा भएको यो खेलमा भारतले पाकिस्तानलाई ४३ रनले हरायो । पहिले ब्याटिङ गरेको भारतले ४९ ओभरमा ७ विकेटको क्षेतिमा २ सय १६ रन बनाएको थियो । जसमा सचिन तेन्दुलकरले ५४ रन, अजय जडेजाले ४६ रन र कपिल देवले ३५ रनको योगदान दिए । पाकिस्तानका लागि मुश्ताक अहमदले ३ र आकिब जाभेदले २ विकेट लिएका थिए । जवाफमा भारतले पाकिस्तानलाई १ सय ७३ रनमा खुम्च्याएको थियो । भारतका बलरमा कपिल देव, मनोज प्रभाकर र जवागल श्रीनाथले २÷२ विकेट लिएका थिए । तर च्याम्पियन बन्यो पाकिस्तान । रोचक—यो खेलमा भारतीय विकेटकिपर किरण मोरेले आउटको अपिल गर्दै उफ्रेका थिए । उनकै नकल गर्दै पाकिस्तानका ब्याटसम्यान जावेद मियाँदाद मैदानमा उफ्रेर रिस पोखेका थिए ।

१९९६ विश्वकप
बैंगलोरमा भएको यो खेल भारतले ३९ रनले जितेको थियो । भारतले पहिले ब्याटिङ गर्दै २ सय ८८ रनको लक्ष्य दिएको थियो । टोलीका लागि नवजोत सिद्धुले सर्वाधिक ९३ रन बनाउँदा अजय जडेजाले ३५ र सचिन तेन्दुलकरले ३१ रन जोडे । पाकिस्तान २ सय ४८ रनमै सीमित हुँदै दोस्रो पटक भारतसँग पराजित हुनु परेको थियो । भारतीय बलमार बेन्केटेश प्रसाद र अनिल कुम्बलेले ३÷३ विकेट लिएका थिए ।

रोचक—पाकिस्तानका ओपनर आमिर सोहेलले चौका हानेर भारतीय बलर प्रसादलाई ब्याट देखाएका थिए । पछि प्रसादले उनकै विकेट लिएर पभेलियन फर्कन औंलाले इशारा गरेका थिए । यो विश्वकप श्रीलंकाले जितेको थियो ।

१९९९ विश्वकप
इंग्ल्यान्डको म्यानचेस्टरमा भएको खेल भारतले ४७ रनले जितेको थियो । फेरि एकपटक पहिले ब्याटिङ गर्न पाएको भारतले मात्र २ सय २७ रन बनाएको थियो । तर मध्यम लक्ष्य पाएको पाकिस्तानको लागि जित्ने सुनौलो अवसर थियो । तर टोली मात्र १ सय ८० मै अलआउट हुन पुग्यो । पाकिस्तानको ब्याटिङ धरासयी गर्न बेन्केटेस प्रसादले ९.३ ओभरमा २७ रन दिएर ५ विकेट लिएका थिए । यो विश्वकप अस्टे«लियाले जितेको थियो ।

२००३ विश्वकप
यो विश्वकपमा पाकिस्तानले भारतविरुद्ध पहिलो ब्याटिङ गर्न मौका पायो र यो मौकालाई खेर पनि जान दिएन । टोलीले सइद अनवरको १ सय १ रनको सहयोगमा २ सय ७३ रन बनाएको थियो । तर सचिन तेन्दुलकरले ९८ रन, युवराज सिंहले ५० रन र राहुल द्रविडले ४४ रन बनाउँदा भारतले पाकिस्तानलाई ६ विकेटले पाखा लगायो । यो विश्वकप अस्टे«लियाले जितेको थियो ।

२०११ विश्वकप
यो विश्वकपमा भारतले चण्डिगढमा भएको खेलमा पाकिस्तानलाई २९ रनले हराएको थियो । भारतले २ सय ६१ रनको लक्ष्य दिएकोमा पाकिस्तानको पुरै टोली २ सय ३१ रनमा खुम्चिएको थियो । यसमा पनि भारतीय ब्याटसम्यान सचिन तेन्दुलकरले सर्वाधिक ८५ रनको योगदान दिएका थिए । यो विश्वकप भारतले जितेको थियो ।

२०१५ विश्वकप
यो विश्वकपमा भारतले एडिलेडमा भएको खेलमा पाकिस्तानलाई ७६ रनले पराजित गरेको थियो । पहिलो पटक विश्वकपमा भारतले पाकिस्तानविरुद्ध ३ सय रन जोडेको थियो । जसमा हालका कप्तान विराट कोहलीले १ सय ७ रन, सुरेस रैनाले ७४ रन र शिखर धवनले ७३ रनको योगदान दिएका थिए । जवाफमा पाकिस्तान २ सय २४ रनमा अलआउट भएको थियो । भारतीय बलर मोहम्मद शामीले ३५ रन खर्चेर ४ विकेट हात पारेका थिए । नेपाल समाचारपत्रबाट । 

प्रकाशित मिति : १ असार २०७६, आईतवार ०९:५७