७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

गुठीलाई समस्याको रूपमा हैन सम्पदाको रूपमा लिऔँ


–विष्णु रानामगर 

गुठी सम्पदालाई राम्रोसंग ब्यबस्थापन गरौं । मैले देखेको एउटै मात्र समस्या भनेको गुठीको जग्गा कमज गर्ने ब्यक्तिले बेच्न पाउँदैन किनकि ऊसंग जग्गाधनी पूर्जा हुँदैन । यो त समस्या नै हुन सक्दैन । समस्या त अन्नपात फलाउने जग्गामा घर फलाउन थालियो र किसानहरूले काम पाउँने जग्गामा, जग्गा जमिन बेचबिखन गर्ने गिरोहहरूले काम पाउँन थाले भने चाहिं समस्या हुन सक्छ ।

बरू, गुठीको जग्गा कमज गर्नेलाई पुस्तौनी सम्पति जस्तो रूपमा भोगचलन गर्न पाउँने, सरकारले गुठीको जग्गा कमज गर्नेसंग मालपोत संकलन नगर्ने, गुठीको जग्गा कमज गर्नेलाई मालपोत बराबरको दायित्व मात्र गुठीलाई तिर्नुपर्ने, सरकारले आम्दानी खर्च हेरेर गुठीसंग कर/मालपोत संकलन गर्ने ?

कमज गर्नेसंग गुठीले जग्गा फिर्ता लिन नपाउँने, गुठीले जग्गा बेच्न नपाउँने या कमज गर्नेसंग सहमति भएपछि मात्र बेच्न पाउँने, गुठीको जग्गा बेच्दा सरकारले बढि राजस्व संकलन गर्न पाउँनुको साथै बिक्रीबाट आएको जम्मा आम्दानी गुठी र कमज गर्ने दुबैलाई बराबर हुनुपर्ने अथवा सरकार, गुठी संस्था, कमज गर्ने तिनै पक्षलाई बराबर हुनुपर्ने, जग्गा धेरै कमज गरिरहेकाबाट जग्गा कम कमज गरिरहेका अथवा जग्गा नभएकालाई कमज गर्न दिंने, गुठीबाट कमज गर्न लिइएको जग्गा बाँझो राखेमा निश्चित समय पछि गुठीले फिर्ता लिन पाउँने, गुठी सञ्चालन समिती सम्बन्धित स्थानियले गठन गर्न पाउँने तर सरकारले औपचारिकता दिनुपर्ने इत्यादि काम गरेर पनि गुठी सम्पदाको ब्यबस्थापन गर्न सकिन्छ ।

यी सबै कार्यहरूको सुपरिबेक्षण सरकारले गुठीयारहरूको सहकार्यमा गर्न सक्ने ब्यबस्था हुन भने जरूरी छ । यसो गर्दा गुठी सम्पदा पनि रहने, जग्गा कमज गर्नेले पनि निर्धक्क भोगचलन गर्न पाउँनुको साथै जग्गामा पनि उत्पादन भईरहने सम्भावना रहन्छ । आखिर सरकारको जग्गा बाँझो नराख्ने नीति पनि त छदैंछ ।

गुठी जग्गा रैकर हुने हो भने त्यहाँ अन्नपात फल्नुको सट्टा घर फल्न थाल्ने छ र किसानहरूले काम पाउँनुको सट्टा जग्गा जमिन बेचबिखन गर्ने गिरोहहरूले काम पाउँनेछन् किनकी गुठी जग्गामा खेतिकिसान गर्ने किसानहरू या त क्षणिक प्रलोभनमा परेर या त बिदेश मोहमा तानिएर(म जस्तो) रैकर भई आएको आफ्ना जग्गा बिक्री गरेर जग्गा बिहीन हुन पुग्ने सम्भावना प्रवल रहन्छ भने नेपाल सरकारको कृषि क्रान्ति गरेर कृषीमा आत्मनिर्भर हुने दुरगामी लक्ष्यले पनि हावा खाने सम्भावना बढ्छ ।

२१ औं शताब्दिमा सम्पदाको रूप लिएको गुठीमाथी “साँस्कृतिक क्रान्ति” जस्तो लाद्नु बाञ्छनिय हुन्न । नेपाललाई “बिबिधतामा एकता, नेपाल र नेपालीको बिशेषता” मा कायमै राख्न जरूरी छ । मैले मान्ने संस्कृति राम्रो, उसले मान्ने संस्कृति नराम्रो ठान्नु हुन्न । नेपालमा भएको सबै किसिमका संस्कृति र साँस्तृतिक सम्पदाहरू किनेर नपाईंने तर हामी नेपालीलाई कता कता नपचेको जस्तो लाग्ने, विश्वमै बिरलै हुने अत्यन्तै महत्वपूर्ण सम्पत्तिहरू हुन् । यसको संरक्षण गर्नुपर्ने दायित्व नेपाल सरकारको पनि हो ।

प्रकाशित मिति : १ असार २०७६, आईतवार ०८:४८