१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सडकलाई निरन्तरता, शिक्षा, स्वास्थ्य र सरसफाइमा प्राथमिकता


३२ जेठ, घाेराही । घोराही उपमहानगरपालिकाको पाँचौँ नगरसभामा प्रमुख नरुलाल चौधरीले शनिबार उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अघिल्लो वर्ष प्राथमिकतामा राखिएको सडक सञ्जाल विस्तारलाई निरन्तरता दिने, शिक्षा, स्वास्थ्य र सरसफाइको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गर्नुभएको छ ।

नीति तथा कार्यक्रममा वडादेखि उपमहानगरको केन्द्रसम्म जोड्ने एक÷एक बाटो कालोपत्र गर्ने कार्यलाई निरन्तरता दिने, कृत्रिम जलाशय निर्माणलाई निरन्तरता दिने, सिँचाइ सुविधा नभएको स्थानमा डिपबोरिङ, साना पोखरी, फोहोरा सिँचाइ र थोपा सिँचाइको व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइएको छ ।

फाइल फाेटाे

यस्तै एक वडा एक खेलमैदानलाई निरन्तरता, सङ्घीय र प्रदेश सरकारको सहयोगमा विभिन्न स्थानमा एकृकीत नमूना बस्ती निर्माणकार्य अगाडि बढाउने, रु एक करोडसम्मका योजना उपभोक्ता समितिबाट सम्पन्न गर्ने, एक लाखभन्दा कमका योजना टोल विकास संस्थाको सहकार्यमा सम्पन्न गर्ने, भौतिक संरचना निर्माण गर्दा बालमैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री बनाउन विशेष ध्यान दिइने र सङ्घीय र प्रदेश सरकारको सहकार्यमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै उपमहानगरले सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूति सेवाका बिरामीका लागि निःशुल्क रगत प्रदान गर्नका लागि नगरप्रमुख रक्तसञ्चार सेवा सञ्चालन गर्ने, आमा र शिशुको जीवनरक्षाको लागि उपप्रमुख आमाशिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने, सुरक्षित सुत्केरी अभियानलाई प्रोत्साहन गर्न आमा खुक्रुके बचत कार्यक्रम, उपमहानगरपालिकास्तरीय अस्पताल स्थापना, आकस्मिक एम्बुलेन्स कोष स्थापना, गाउँघर क्लिनिकलाई थप सुविधायुक्त बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७५÷७६ मा ११ किलोमिटर सडक कालोपत्र, १५ किलोमिटर ग्राभेल, १९ नयाँ थप सिँचाइ संरचना, १३ सार्वजनिक भवन निर्माण, ३८ थप नयाँ सडक, तीन थप जलाशय निर्माण १६ खानेपानी योजना सम्पन्न भएको जानकारी पनि गराइएको थियो । यस्तै मोटरबाटोको पँहुचबाट टाढा रहेका वडा नं १९ को सैघा र वडा नं २ को चाक्लिघाटमा मोटरबाटो प¥याउने कार्य पनि सम्पन्न भएको र पाँच डिपबोरिङको निर्माणकार्य सम्पन्न, क्रिकेट मैदान, बधशाला, रङ्गशाला र लखन उद्यानको डिपिआरको काम सम्पन्न भएको पनि जानकारी दिइएको थियो ।

यस्तै घोराहीका १७ वडामा कर सङ्कलन काउन्टरको स्थापना, १२ वडामा अनलाइनबाट व्यक्तिगत घटना दर्ताको कार्य शुभारम्भ र नौ सडकको ४२ किलोमिटर कालोपत्रको काम चालू रहेको बताइएको छ । शिवपुर, हरिद्धार, हात्तीखर्क र आन्द्रभरैयामा चालू आर्थिक वर्षमा थप स्वास्थ्यचौकी निर्माण गरी नागरिकको आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने संवैधानिक अधिकार सुनिश्चित गरिएको, गल्ने फोहरबाट ग्यास निकाल्न सम्झौता भएको जानकारी दिइएको थियो ।

यस्तै न्यायिक समितितर्फको काममा चालू आर्थिक वर्षमा परेको १७२ विवादमध्ये ८३ मुद्दा फछ्र्यौट भई नागरिकलाई स्थानीय सरकारबाटै न्यायको प्रत्याभूति गराउने प्रयास गरिएको उपमहानगरले जनाएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा उपमहागनरका जनप्रतिनिधिहरु, सरोकारवाला निकाय एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार १९:४३