७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नुवाकोटमा तीन सातादेखि टेलिफोन सेवा अवरुद्ध


२८ चैत काठमाडौं । नेपाल टेलिकमको तारमा क्षति हुँदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको टेलिफोन सेवा बन्द भएको छ ।


तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हँुदा विगत तीन सातादेखि सो क्षेत्रमा फोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा परेका हुन् ।

गत चैत ३ गते पाइपलाइन विस्तार गर्ने क्रममा टेलिफोनको तारमा क्षति भएर अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालन हुन नसकेको टेलिकम नुवाकोट शाखाका प्रमुख श्यामकान्त चौधरीले जानकारी दिए ।

सञ्चारलाई अत्यावश्यक सेवा प्रवाहका रुपमा लिने गरिए पनि फोन अवरुद्ध भएको तीन साता भइसक्दासमेत सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका उपभोक्ता सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ ।

तारमा पुगेको क्षतिबाट जिल्ला अस्पताल त्रिशूलीको फोन सेवा बन्द हुँदा अस्पतालमा जाँच गराउन आउने तथा कुनै दुर्घटना भएर एम्बुलेन्स सेवा एवम् स्वास्थ्य परामर्शका लागि टेलिफोनमार्फत जानकारी लिनबाट बिरामी वञ्चित भएका छन् ।

फोन सेवा अवरुद्ध हँुदा जिल्ला अस्पतालसहित त्रिशूली सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला खेलकुद विकास समिति, माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना लगायतका सरकारी कार्यालय एवम् उद्योगी, व्यापारी तथा निजी निवासमा जोडिएका टेलिफोन सेवा पनि बन्द भएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १३:४८