१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुकेधारा बम विस्फोटका घाइते अर्का एक जनाको मृत्यु


३२ जेठ, काठमाडाैँ । सुकेधारा बम विस्फोटका घाइते अर्का एक जनाको मृत्यु भएकाे छ । चाबहिलको ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका ४ का रामकुमार श्रेष्ठको शनिबार मृत्यु भएको हो । मृतक प्रतिबन्धित चन्द समूहका कार्यकर्ता रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जनाएका छन् ।

प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधारा विस्फोटका तीन घाइतेमध्ये चन्द समूहमा आवद्ध रहेका हरि खड्का र सुरेन्द्र मर्हजनको उपचार चाबहिलको ओम अस्पतालमा भइरहेको छ भने विस्फोट भएको सैलुनका सञ्चालक छोटे भनिने जीवकुमार ठाकुरको उपचार ट्रमा सेन्टरमा भइरहेको छ।

ठाकुर चन्द समूहमा संग्लन थिए वा उपयोगमात्रै भएका हुन् भन्नेबारे स्वतन्त्र पुष्टि भइसकेको छैन। छोटेको करङ भाँचिएको छ। सुरेन्द्रको दाहिने खुट्टाको घुँडामुनीको भाग उपचारको क्रममा काटिएको छ भने हरिको पनि दाहिने खुट्टाको घुडामुनीको भाग संक्रमित भइरहेको छ। प्रहरीका अनुसार संक्रमण बढेको खण्डमा खुट्टाको भाग काट्नैपर्ने देखिन्छ। सोही दिन थानकोटमा भएको विस्फोटमा घाइते भएका चन्द समूहका कार्यकर्ता महेन्द्र लामाको पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार १७:५२