१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नियात्रा लेखनमा महिला उपस्थिति र योगदानबारे चर्चा


काठमाडाैँ । नियात्रा समाज नेपालको अायोजनामा “नियात्रालेखनमा महिला उपस्थिति र योगदान” विषयमा छलफल भएको छ । काठमाडाैँमा अायोजित उक्त कार्यक्रममा डा. गीता त्रिपाठीले नियात्रालेखनमा महिलाको उपस्थितिबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।  उनले नियात्राकार रञ्जुश्री पराजुलीद्धारा लिखित “विदेशमा बिताएका केही वर्ष” (२०४१) नै महिलाले लेखेको पहिलो नियात्रा कृति भएको कुरा उल्लेख गरिन् । महिला नियात्राकारका लेखनमा पाइने विभिन्न प्रवृतिगत योगदानका बारेमा चर्चा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नियात्रा प्रकाशन हुने कुरामा आशावादी रहेको बताइन् ।

उक्त कार्यपत्रमाथि निबन्धका अन्वेषक तथा समालोचक प्रमोद प्रधानले टिप्पणी गरेका थिए । प्रधानले केही छुटेका निबन्ध कृतिहरुको उल्लेख गर्दै विदेश भ्रमणमा आधारित महिलाका कृति प्रशस्त प्रकाशन भएपनि स्वदेश भ्रमणका कृति प्रकाशनमा पनि जोड दिनु पर्ने कुरा उल्लेख गरे । अन्य सहभागी नियात्राकारहरुले पनि नियात्रा समाज नेपालले यस्तै ऊर्जाशील कार्यक्रममा जोड दिनु पर्ने र आगामी दिनमा भ्रमण क्रियाकलापको अगुवाई गरिदिन पनि अाग्रह गरे । नियात्रा समाज नेपालका उपाध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ नियात्राकार देविचन्द्र श्रेष्ठ प्रमुख अतिथि  रहेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार ११:४२