८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

निःशुल्क रगत वितरण गर्न रक्तदाताको माग


३१ जेठ, काठमाडाैँ । नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदाताले उपलब्ध गराएको रगत बिरामीलाई निःशुल्क वितरणको व्यवस्था गर्न माग गरेको छ । समाजकोे १६ औँ विश्व रक्तदाता दिवशका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका सहभागी वक्ताले प्रत्येक व्यक्तिलाई सबै स्थानमा रगत र रक्त तत्व सर्वसुलभ रुपमा निःशुल्क प्राप्त गर्ने व्यवस्थाको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले रक्तसञ्चार सेवालाई प्रभावकारी, व्यवस्थित र सर्वसुलभ बनाउन समाजले निर्वाह गरेको भूमिकाको प्रशंंसा गर्दै रगतलाई कसरी निःशुल्क वितरण गर्न सकिन्छ, त्यसका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले समाजले देशभर स्वयंसेवी रक्तदातालाई एकीकृत गरी रक्तदानमा प्रेरित गरेमा रगतको आवश्यकता भएका बिरामीलाई नयाँ जीवन दिन सहयोग पुग्ने बताउनुभयो ।

सो अवसरमा हेल्थ कन्र्सनका संस्थापक अध्यक्ष डा सुभाष प्याकुरेल, रक्तसञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णिकार, नेपाल थालेसिमिया सोसाइटीका अध्यक्ष दुर्गाप्रसाद पाठकलगायतले रक्तदानसम्बन्धी शिक्षाको कमीले कूल जनसङ्ख्याको एक प्रतिशत रक्तदाता पनि नरहेकाले युवालाई रक्तदानमा आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले देशका विभिन्न २५ जिल्लामा सञ्जाल विस्तार गरी छ हजार सदस्यलाई संस्थामा आवद्ध गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार २०:३७