१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतको सहयोगमा गोरखामा नेपाल आवास पुर्ननिर्माण परियोजना सुरु


२८ चैत, गोरखा । सम्झौता गरेको तीन वर्षपछि भारत सरकारको सहयोगमा बन्ने नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु भएको छ ।


२०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त आवास पुर्ननिर्माणका लागि दुई नगरपालिका र छ गाउँपालिकाका २६ हजार घरपरिवारका घर बनाउन संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी)ले सामाजिक तथा प्राविधिक सहजीकरण गर्नेछ ।
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले पुर्ननिर्माणले आंशिक गति लिएको बताउँदै समयमा घर बनाउन नसक्दा जनताले कष्टकर जीवन बाँच्नु परेको उल्लेख बताए ।

परियोजनाअन्र्तगत युएनडिपीले घर बनाउनुअघि नक्सा पास गरेर मात्र निर्माण कार्य थाल्ने भएकाले नक्सा पास नभएर अड्किरहेको अवस्थामा जनतालाई प्रभावकारी हुने विश्वास व्यक्त गरे । यस परियोजनाबाट करिब २७ हजार घरपरिवार लाभान्वित हुनेछन् ।

युएनडिपी नेपालका उपराष्ट्रिय निर्देशक सोफिया किमखादेजले भारत सरकारको यस परियोजना सम्पन्न गर्नेक्रममा घरधनीलाई नै मिस्त्री तालिम दिने बताए ।

 

उनले घरधनीलाई अनुदान उपलब्ध र प्रमाणपत्रसम्बन्धी प्रशासनिक प्रक्रिया, पुर्ननिर्माणका लागि प्राविधिक सीप, डिजाइनसहित सरकारी मापदण्डभित्र रहेर विपद् प्रतिरोधात्मक घर बनाउन सहयोग पनि बताए ।

परियोजनाअन्र्तगत धार्चे गाउँपालिकाका चार, आरुघाट गाउँपालिकाका दुई, अजिरकोट गाउँपालिका दुई, सिरानचोक गाउँपालिकाका चार, सहिद लखन गाउँपालिकाका पाँच, गण्डकी गाउँपालिका तीन, पालुङटार नगरपालिकाका १० र गोरखा नगरपालिकाका १२ वडाका २६ हजार ९१२ घरपरिवारले लाभ प्राप्त गर्ने बताइएको छ ।

गोरखा जिल्लाका निजी आवासका लागि ५७ हजार घरधनीसँग भएको सम्झौतामध्ये ४१ हजारले पहिलो किस्ता लिइसकेका छन् भने दोस्रो किस्ताका लागि सिफारिस भइसकेको छ ।

आगामी तीन वर्षमा सकिने परियोजनाका लागि रु ८० करोड रुपैयाँ लागत लाग्ने बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १३:१२