१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शिक्षिका विद्यालय नै जाँदैनन्


३० जेठ, बाजुरा । जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो । ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको समयसमयमा विरोध गरेपनि स्वयम् शिक्षिकाहरुले नै यो कुरालाई नमानेको पाइएको छ ।

स्थापनाकालदेखि नै यो प्रथा चलिआएकाले विद्यार्थीहरु यसबाट प्रत्यक्ष मारमा परेको प्रधानाध्यापक प्रकाश ऐडीले जानकारी दिनुभयो । कहिलेकाहीँ आफू तालीम, गोष्ठीलगायतका काममा गएको समयमा दुवै जना शिक्षिका कहिलेकाहीँ एकै पटक महिनावारी हुँदा विद्यालयको पढाइ नै ठप्प रहने गरेको प्रधानाध्यापक ऐडीको भनाइ छ ।

आफूले यो प्रथा गलत रहेको भन्दै महिनावारी भएको समयमा शिक्षिकाहरुलाई विद्यालयले बिदा नदिने निर्णय गरेको भए पनि शिक्षिकाहरुले नै नमान्ने गरेको विद्यालयको भनाइ छ । एक पुरुष र दुई महिला शिक्षक रहेको यो विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ३ सम्म पढाइ भइरहेको छ । हाल १८ जनाको सङ्ख्यामा विद्यार्थीहरु अध्ययन गरिरहेका छ्न् । शिक्षिका किन स्कुल आउनु भएन भनेर विद्यार्थीलाई सोध्दा छाउ (महिनावारी) भएर नआएको कक्षा ३ मा अध्ययनरत् छात्र अर्जुन ऐडीले बताए ।रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १८:२५