१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हावाहुरीबाट केरा खेती नष्ट


३० जेठ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् । कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा हावाहुरीले ९० प्रतिशत क्षति गरेको किसान मङ्गल चौधरीले बताउनुभयो । उहाँका अनुसार हावाहुरीले ४२ हजार ५०० केराका बोट ढालेको छ । जसबाट रु एक करोड ४८ लाख ७५ हजार रकम बराबरको केरा खेतीमा किसानलाई घाटा लागेको छ ।

फाइल फाेटाे

केराको बोट खरीद, लगाउने खर्च, मल, सिँचाइ गोडमेल गरी प्रतिबोट केरा रु ३५० लागत खर्च लाग्ने गरेको छ स्थानीय किसान रामआश्रय रानाले भन्नुभयो, “दश कट्ठामा लगाएको पूरै केरा हावाहुरीका कारण ढलेपछि नोक्सानी भएको छ । जी नौ जातको केरा रोपेका यहाँका किसानले हावाहुरीले व्यापक क्षति पु¥याउँदासमेत निरीक्षणका लागि हालसम्म सरकारी निकाय र जनप्रतिनिधि नपुगेको स्थानीय किसानले गुनासो गरेका छन ।

धेरै जनाले गाउँको समूह, सहकारी संस्था र बैंकबाट कर्जा लिएर केरा खेती गरेका छन् । केरा खेती पूरै बर्बाद भएपछि समूहबाट केरा खेतीका लागि लिएको रु २० हजार ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको भङ्गी रानाले बताउनुभयो । प्राकृतिक प्रकोपका कारण निकै क्षति व्यहोरेका छौँ”, उहाँले भन्नुभयो, “किसानलाई केरा खेतीबाट पलायन हुन नदिनका लागि नगरपालिका, प्रदेश र केन्द्र सरकारले क्षतिपूर्तिको व्यवस्था गरिदिनु पर्दछ ।” आउँदो वर्षदेखि केरा खेतीमा बीमा गर्ने वातावरण बनाई दिनसमेत उहाँले माग गर्नुभएको छ । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १२:५२