७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

भ्रष्टाचारले चुर्लुम्मै डुबेपछि पत्रकार महासंघविरूद्ध अख्तियारमा उजुरी, छानविन सुरू


२९ जेठ, रूकुम । सधै अरुको बारेमा सोधीखोजी गर्ने पत्रकारहरुको संस्था अख्तियारको छानविनमा परेको छ । भवन निर्माणमा अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको हो । महासंघ रुकुम शाखाको सदरमुकाम खलंगा स्थित चन्दननाथ टोलमा भवन निर्माण भएको थियो । उक्त भवन निर्माणका लागि तत्कालिन जिल्ला विकास समिति, निर्वाचन क्षेत्र विकास कार्यक्रम र सूचना तथा सञ्चार मन्त्रालयको गरि करिब २० लाख रकम छुटिएको थियो ।

भवन निर्माणमा भ्रष्टाचार भएको भनि निवेदन परेपछि अख्तियारले छानविन शुरु गरेको अख्तियारका सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो । ‘निवेदनपछि भवन निर्माणको बजेट निकासा गर्न पेश गरिएका बिल भरपाई र कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ’ उनले भने, ‘

बाँकी कुरा के कसरी अघि बढ्छ अनुसन्धान पछि मात्र थाहा हुन्छ, अहिले सबै खुलाउन मिल्दैन ।’ नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गणेश विक चिन्तनले ब्यक्तिगत रिसिईबिले अख्तियारमा निवेदन दायर भएको र त्यो पुष्टि नहुने दाबी गर्नुभयो ।

भवन निर्माणमा आएको रकम लगायतका संस्थागत आर्थिक पाटोलाई थप पारदर्शी र स्पष्टता बनाउन नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको साधारणसभा यहि असार १ गते आयोजना गरिएको पनि उहाँको भनाई छ ।

उता जिल्ला स्थित पत्रकारहरु भने महासंघको आर्थिक पारदर्शिताको विषयमा चित्त नबुझेको भन्दै बेलाबेला प्रश्न उठाउने गरेका छन् । भवन निर्माणको बजेट र खर्चका विषयमा पत्रकार महासंघकै पदाधिकारीहरु नै चित्त नबुझेको बताईएको छ । पटक पटक बैठक बसेपनि तयार गरिएको आर्थिक विवरणमा अध्यक्ष बाहेकका अन्य सदस्यहरु सहमत हुन सकेका छैनन । भवन निर्माण लगायत अन्य संस्थागत आर्थिक पक्षहरु अध्यक्षको एकलौटी र मनोमानी तरिकाले चलिरहेको जिल्ला स्थित पत्रकारहरुको गुणासो छ ।

प्रत्येक वर्ष हुनुपर्ने वार्षिक साधारणसभा पनि पछिल्ला कुनै पनि वर्षहरुमा भएको छैन । पत्रकार महासंघ रुकुम पश्चिममा देखिएको आर्थिक अपारदर्शितालाई सबै साधारण सदस्य सम्म चित्त बुभ्ने तरिकाले स्पष्ट पार्न जरुरी रहेको प्रेस सेन्टर रुकुमका अध्यक्ष मेगराज खड्काले बताउनुभयो । धनवीर दाहालले रुकुमबाट नेपाल समाचार पत्रका लागि लेखेको समाचार न्युजअफनेपालबाट साभार ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार २०:३२