१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सार्वजनिक शिक्षा सुधारलाई प्राथमिकतामा राखेका छाैँ : उपप्रधानमन्त्री  पोखरेल


२९ जेठ, काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताउनुभएको छ । तारकेश्वर नगरपालिका गोलढुङ्गास्थित पृथ्वीनारायण माविको नवनिर्मित भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधानको मौलिक हकको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा शिक्षा क्षेत्रमा सुधारका लागि सामुदायिक विद्यालय गुणस्तर अभिवृद्धि दशक सञ्चालन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबल र कुशल जनशक्तिको आवश्यकता पर्छ । त्यस्तो जनशक्ति गुणस्तरीय शिक्षाबाट मात्रै प्राप्त हुन्छ । शिक्षाले उत्पादन, श्रम, रोजगार र आत्मनिर्भरतालाई जोड्न सक्नुपर्छ । त्यसका लागि हामी नीतिगत र कार्यक्रमिक पुनःसंरचनाको चरणमा छौँ । उहाँले ७० प्रतिशतसम्म प्राविधिक शिक्षाको धारलाई प्राथमिकता दिइएको र आगामी आर्थिक वर्षमा मुलुकका ७० जिल्लासम्म पूर्ण साक्षर घोषित हुने पनि बताउनुभयो । दक्षिण कोरियाली संस्था अम हाँेङ गिल ह्युमन फाउण्डेशनको करीब रु २० करोड सहयोगमा निर्माण हुने पुस्तकालय तथा बहउद्देश्यीय कभर्ड हलको उपप्रधानमन्त्री पोखरेलले शिलान्यास गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले कोरियाली नागरिक अम होँङलाई नेपालको मानार्थ नागरिकता दिने विषयमा सरकारले चाँडै निर्णय गर्ने पनि सुनाउनुभयो । अम होँङले सन् २००२ मा सगरमाथा आरोहण गर्नुभएको थियो भने संस्था खोली नेपालमा सामाजिक काम गर्दै आउनुभएको छ । उहाँले संसारका आठ हजार मिटरभन्दा अग्ला १६ हिमाल चढेर कीर्तिमान राखिसक्नुभएको छ । फाउण्डेशशनले यसअघि नेपालमा विभिन्न १५ विद्यालयमा भवन निर्माण गरिसकेको छ । सो फउण्डेशनको कार्यकारी निर्देशक अम होँङ नै हुनुहुन्छ । उहाँले नेपाली विद्यार्थीको सुन्दर सपना पूरा भएमा देशको भविष्य उज्जल हुने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारले शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेट अझै अपर्याप्त भएको गुनासो गर्नुभयो । नेपालका लागि कोरियाली राजदूत छङ उन, नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव राधिका अर्याललगायतले विद्यालयको सफलताको कामना गर्नुभएको थियो । विसं २०३२ मा स्थापित सो विद्यालयमा हाल १०२० विद्यार्थी रहेका प्रधानअध्यापक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १५:२५