१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

विकासका आयोजनामा भएको प्रगति विवरण संकलन गर्दै प्रदेश नं. ३ को अर्थ तथा विकास समिति


२८ जठ, काठमाडाैँ । काठमाडौँ । प्रदेश नं. ३ को अर्थ तथा विकास समिति अहिले विभिन्न प्रदेश मातहत सञ्चालित विकासका आयोजनामा भएको प्रगति विवरण संकलनका लागि खटेको छ । प्रदेश नं. ३ को अर्थ तथा विकास समितिले योजना अनुगमन उपसमिति नै गठन गरेर अनुगमनका लागि टोली खटाएको हो । सो टोली अहिले विभिन्न जिल्लाको अनुगमनमा खटिएको छ । पहिलो चरणमा धादिङ, नुवाकोट र रसुवाको अनुगमन गर्ने गरी टोली अहिले ती जिल्लामा पुगेको छ ।

उपसमितिका संयोजक नारायण सिलवाल नेतृत्वको टोलीले सोमबार मात्रै धादिङ जिल्लामा निर्माणाधीन चार योजनाको अनुगमन गरेको समितिका सदस्य डाक्टर अजयक्रान्ति शाक्यले जानकारी दिनुभयो । टोलीले धादिङबेसीस्थित विभिन्न आयोजनाको अनुगमन गरेको थियो । शाक्यका अनुसार धादिङमा २ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माणाधीन धोपलखोला पुल, २८ करोड लागतमा धादिङबेसी–सङ्कोस–पिप्लिङ सडक र ६० लाखको लागतमा बन्दै गरेको निलकण्ठ–१३ को सडक योजनाको अनुगमन गरेको थियो ।

धादिङबेसी–सङ्कोस–पिप्लिङ सडक हालै मात्र प्रदेश मातहत आएको हो । यो सडक चाइना जोड्ने सडक पनि हो । अनुगमनका क्रममा संसदीय टोलीले कुनै पनि बाहानामा निर्माण कार्यलाई नअल्झाउन वा ढिला नगर्न निर्देशन दिएको थियो । सो टोलीले मंगलबार र बुधबार नुवाकोट र रसुवा जिल्लामा निर्माणाधीन आयोजनाको अनुगमन गर्ने शाक्यले जानकारी दिनुभयो । अनुगमन टोलीमा प्रदेश सांसदहरु डा. अजयक्रान्ति शाक्य, बिजुला बर्मा, शोभा शाक्य, आशामाया तामाङलगायत हुनुहुन्छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १०:१३