१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नगर विकास कोष अब पूर्वाधार विकास निगम, नगरपालिकाको भौतिक विकासमा थप टेवा पुग्ने


२८ जेठ, काठमाडाैँ । सरकारले नगर विकास कोषलाई सहरी पूर्वाधार विकास निगमको रूपमा रूपान्तरण गर्ने भएको छ । आगामी वर्षको बजेटमा समेत कोषलाई निगममा परिणत गरी नगरस्तरीय पूर्वाधार आयोजनाहरू निगमको वित्तीय लगानी र स्थानीय तहको साझेदारीमा सञ्चालन गरिने व्यवस्था गरिएको छ ।

कोषले अहिले नगरपालिकाको भौतिक पूर्वाधार र प्राविधिक सहयोगका लागि खेलेको भूमिकालाई थप प्रभावकारी बनाउन निगमको रूपमा रूपान्तरण गर्न लागिएको बताईएको छ । निगममा रूपान्तरण गर्दा संघीय सरकारको नौ अर्ब, नगर विकास कोषको पाँच अर्ब, प्रदेश, स्थानीय तह वा अन्तर्राष्ट्रिय संस्थाहरूको पाँच अर्ब र बैक तथा अन्य संस्थाहरूको एक अर्ब गरी कुल २० अर्ब रुपियाँको रकमको संयुक्त कोष निर्माण गरिने कोषको प्रस्ताव छ ।

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सरकारले नगर विकास कोषलाई निगममा रूपान्तण गर्न बजेटमा उल्लेख गर्नु सकारात्मक भएको भन्दै यसका लागि कोषले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । कोषलाई निगममा रूपान्तणका लागि कानुनको मस्यौदा तयार गर्नुपर्ने र त्यसपछि मन्त्रालयले उक्त मस्यौदालाई संसद् हुँदै मन्त्री परिषद्सम्म पु¥याउने उहाँले जनकारी दिनुभयो । नेपालमा सहरी पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानी परिचालन गर्न एक मात्र वित्तीय मध्यस्थकर्ता संस्थाका रुपमा कोषले भूमिका खेल्दै आएको छ ।

विगत ३० वर्षमा कोषले प्राप्त गरेका अनुभव तथा उपलब्धिको आधारमा नेपालको सहरी क्षेत्र विकासका लागि आवश्यक पर्ने वित्तीय स्रोत परिचालनमा नेतृत्वदायी भूमिका खेल्न सक्ने कोषको दाबी छ । कोषका कार्यकारी निर्देशक मणिरामसिंह महतका अनुसार कोषले सामाजिक, सहरी आधारभूत, आर्थिक पूर्वाधार, लगायत आयमूलक आयोजनाहरू सञ्चालन गर्न सेवाग्राही नगरपालिकाहरु, नगर विकास समितिहरु, खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरू, नगरोन्मुख गाउँपालिकाहरु तथा अन्य सहरी विकासमा सङ्लग्न संस्थाहरुलाई आवश्यक सरल ऋण तथा अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । साविक ५८ वटा नगरपालिका हुँदा करिब १७ प्रतिशतको हाराहारीमा रहेको सहरी जनसङ्ख्या अहिले २९३ वटा नगरपालिका गठन पछि बढेर ६० प्रतिशत पुगेको अनुमान छ । महतले भन्नुभयो “कोष निगममा रूपान्तण भएपछि यसको कोष बृद्धि हुने र नगरपालिकाको भौतिक र प्राविधिक विकासमा थप टेवा पुग्नेछ ।” यो समाचार नगेन्द्र सापकोटाले गोरखापत्र दैनिकमा लेखेका छन । 

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार ०८:२६