११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

बाैद्धमा प्रहरी अपरेशनः कुख्यात डाँका छिरिङ तामाङ ‘काका’लाई दुई गोली लाग्यो


२४ जेठ, काठमाडाैँ । प्रहरीले बाैद्ध क्षेत्रमा डकैतीको काम गर्दै अाएका कुख्यात डाँका छिरिङ तामाङ ‘काका’लाई दुई गोली हानेर समातेकाे छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले शुक्रबार डकैती मुद्दाका फरार अभियुक्त तामाङ समात्न गोली चलाएको हो । बौद्धको अत्तरखेलमा तामाङलाई गोली हानेर पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताएका छन ।

थापाका अनुसार तामाङको खुट्टामा गोली लागेको छ । थापाका अनुसार हतियार देखाएर लुटपाट गर्ने समूहका अन्य  ४ जना पक्राउ परे पनि तामाङ भने फरार रहेका थिए । तामङ प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ । गोली लागि घाइते भएका तामङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

४ जेठमा तामाङको समूहले जोरपाटीमा बुद्धराम सुनारले चलाएको भिमेश्वर सुन चाँदी पसलमा लुटपाट गरेको थियो । समूूहका धराने भनिने नितेस तामाङ, मुन्द्र भनिने अजय घ्यावा तामाङ, बाहुन भनिने रुपेश चौंलागाई र जिग्री भनिने मकवानपुरका भिमराज थिंङ यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरीका अनुसार उपत्यकाको सुन पसल, मनी एक्सेञ्ज लगायत वित्तिय संस्थामा तामाङको समूहले हातहतियार तथा खुकुरी देखाएर लुटपाट गर्ने गरेको थियो ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार १७:२८