७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार कोपा अमेरिका कपबाट बाहिरिए, यस्ताे रहेछ कारण


२३ जेठ, ब्रासिलिया । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ । एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ ।

नेमार विश्वकै सर्वाधिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन् । बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए । उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन् । नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन ।रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार १३:२३