४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

सवारी जाँचबाट ११ लाख राजश्व सङ्कलन


२२ जेठ, मनाङ । हिमाल पारीको जिल्ला मनाङमा यसवर्ष सवारी जाँचबाट रु ११ लाख ५६ हजार पाँच सय राजश्व सङ्कलन भएको छ । गतवर्ष जम्मा रु एक लाख ७५ हजार राजश्व सङ्कलन भएको थियो । बेँशीसहर चामे सडक खण्डमा मौसममा धेरै पर्यटक आउने हुँदा सवारी धनको अभावमा एउटै सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्नुपर्ने बाध्यता रहेको छ । सवारी साधनको चाप बढेसँगै कारवाही बढेकोले राजश्व पनि बढेको छ । यहाँ जम्मा दुईवटा ट्राफिक दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय मनाङ्का प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो ।

उक्त दरबन्दी सीमा प्रहरी चौकीको माताहतमा रहेको पनि उहाँले बताउनुभयो । प्रहरी सहायक निरीक्षक रामऔतार चौधारीका अनुसार विभिन्न शीर्षकमा राजश्व सङ्कलन गरिएको हो । सवारी जाँच, सिट क्षमता भन्दा बढी यात्रु, सडक इजाजत बिना सवारी सञ्चालन जस्ता शीर्षकमा कारवाही गरेको उहाँले बताउनुभयो । कच्ची सडक र सवारी साधन पर्याप्त मात्रामा नहुँदा यहाँ आउने पर्यटकलाई सास्ती भएको छ । साना सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्दा दुर्घटनाको भय हुने हुँदा सवारी चालकलाई क्षमता भन्दा बढी यात्रु नराख्न अनुरोध गरेको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार २०:०४