१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन असम्भवः गृहमन्त्री थापा


१८ जेठ, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा’ले विकास, शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित सामुदायिक सेवा केन्द्रले आज आयोजना गरेको स्वास्थ्य शिक्षा सचेतना कार्यक्रममा गृहमन्त्री थापाले जनता र राष्ट्रको सेवा गर्ने अठोटका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य लिएर सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

जनतालाई कसरी छिटोभन्दा छिटो समृद्धिको शिखरमा पु¥याउने भन्नेमा सरकार चिन्तित रहेको गृहमन्त्री थापाको भनाइ छ । गरीब र दुःखी जनतालाई सुखी बनाउन पनि देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै उहाँले समृद्धिबाट मात्रै जनता सुखी हुने जिकिर गर्नुभयो ।

“विकासविना समृद्धि सम्भव छैन, त्यसैले सरकारले छोटो अवधिमा विकास गर्ने सङ्कल्प गरेको छ, त्यसैलाई केन्द्रित गरेर बजेटमार्फत भर्खरै विकासका योजना प्रस्तुत गरेको छ”, गृहमन्त्रीले भन्नुभयो । वृद्धवृद्धालाई संरक्षण गर्ने दायित्व राज्यको भएकाले वृद्धभत्ता बढाएर सरकार अघि बढेको बताउँदै उहाँले दिदीबहिनीको संरक्षण कसरी गर्ने, राहत कसरी दिने भन्ने कुरा पनि योजनामा रहेको बताउनुभयो ।

देशमा भएका लाखौँ बेरोजगारलाई कसरी रोजगारी र राहत दिने भन्ने बारेमा समेत सरकारले योजना अघि सारेको उल्लेख गर्दै गृहमन्त्री थापाले कोही पनि रोगले नमरुन्, कोही पनि भोगले नमरुन् र कोही पनि आवासविना शीत र गर्मीले नमरुन् भनेर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा योजना र स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताउनुभयो । सो क्रममा गृहमन्त्री थापाले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी दोसल्ला ओढाएर कदरपत्रले सम्मान गर्नुभएको थियो ।

गृहमन्त्री थापाले ज्ञानको शिखर पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको समेत बताउनुभयो । जोशीले सामुदायिक सेवा केन्द्रले मानवीय सेवा गर्दै आएकामा प्रशंसा गर्नुहुँदै आजको जमानामा सबैभन्दा ठूलो कर्तव्य सेवा भएको बताउनुभयो । गृहमन्त्रीबाट सम्मानित हुन पाउँदा गौरवान्वित भएको जोशीले बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार २०:३३