१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जनतासँग सम्बन्ध नसुधारे नेपाली कांग्रेस समाप्त हुन्छ : नेता सिंह


१८ जेठ, काठमाडाैँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताउनुभएको छ । पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उहाँले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताउनुभयो ।

“अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व काङ्ग्रेसले पूरा गरे पनि जनताले किन काङ्ग्रेसलाई विश्वास गर्न सकेन”, उहाँले भन्नुभयो । पार्टीका पूर्व महामन्त्री सिंहले पार्टीले विधि र विधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्याएर मनलाग्दी आफूखुशी निर्णय गर्दै जाँदा पार्टी झन् कमजोर हुँदै गएको बताउनुभयो । पार्टी विधिसम्मत् रुपमा अगाडि नबढे गुट मौलाउँदै जाने उहाँको भनाइ थियो ।

 

उहाँले पार्टीलाई सङ्घीय स्वरुपमा लान नसक्दा जागरण अभियानमा उत्साह नआएको उल्लेख गर्नुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले सङ्घीयता कमजोर पार्न खोजेको आरोप लगाउनुभयो । सरकारले भर्खरै प्रस्तुत गरेको बजेट सङ्घीयता मजबुत बनाउने खालको नभएको उहाँको जिकिर छ ।

काङ्ग्रेस केन्द्रीय सदस्य अजयकुमार चौरासियाले पार्टीलाई बलियो बनाउन पार्टीले विधानको पालना गर्नुपर्ने बताउनुभयो । जागरण अभियानलाई गाउँ गाउँसम्म लैजानुपर्ने उहाँको भनाइ थियो । उहाँले वर्तमान सरकार जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप समेत लगाउनुभयो । काङ्ग्रेस रौतहटका सभापति कृष्ण यादवले काङ्ग्रेस नेतृत्वले जागरण अभियानमार्फत आएका सुझावलाई आत्मासाथ गरेर अगाडि बढेमात्र भविष्यमा काङ्ग्रेसको सङ्गठन बलियो हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार १५:४८