Logo

कुबेलाको प्रचण्डको बोलीले गाडेको अस्थिरताको ‘खिल’



–राजेन्द्र अर्याल

भन्छन् र धेरैले मान्छन् पनि कि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक जना अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर छन् । कतिपय प्रचण्डलाई नेपालको राजनीतिक वृत्तमा ‘चतुर खेलाडी’ का रुपमा लिन्छन् । प्रचण्डलाई नजिकबाट नियाल्नेहरुका बुझाइमा ‘ट्याक्टिकल मुभ’ गर्न सक्ने, जोखिम मोल्न सक्ने र कतिपय सुविचारित र योजनावद्ध ढङ्गले नभई गञ्जागोललाई ‘ट्याक्टिस’ को आवरणमा कार्यकर्ता र जनताको ध्यान आकर्षित गर्न सक्छन् भने पार्टी बाहिरका शक्तिहरुसँग उनी सजिलै घुलमिल हुन सक्छन् र आफ्ना कट्टर विरोधीहरुसँग संवाद गर्न पछि नपर्ने उनको खुबी हो ।

उनी शान्त तलाउमा ढुङ्गा हानेर तरङ्ग पैदा गर्दै केन्द्र विन्दुमा आफै रहेको सन्देश प्रवाह गर्छन् । यो उनको शैली हो । हो, अहिले फेरि नेकपाका अध्यक्ष प्रचण्ड एकाएक चर्चामा छन् र नेपालको राजनीतिमा खासगरी नेकपाको आन्तरिक जीवनमा तरङ्ग पैदा गरेका छन् । जबरजस्त ढङ्गले वर्ष दिनअघि पार्टी एकता गर्ने बेलामा भएको तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भएको भनिएको सहमति सार्वजनिक गर्दै आफू १५ महिनापछि मुलुकको प्रधानमन्त्री हुने वा पार्टीको एकल बागडोर सम्हाल्ने भन्ने पक्षमा रहेको खुलेरै बोले ।

प्रचण्डको यो बोली छिमेकी देश भारतका नव नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा प्रचण्ड प्रधानमन्त्री रहेको बेला २०७३ भदौ ३१ गते राजकीय भ्रमणमा दिल्ली पुगेकै बेला यता अख्तियारको प्रमुख आयुक्त रहेका लोकमानसिंह कार्कीले प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा चलाउने भनिदिंदा उताको वार्ता असहज भएको अवस्थासँग तुलना गर्नेहरु पनि छन् ।

जे होस्, प्रधानमन्त्री ओली दिल्ली टेकेकै दिन गत वर्ष एकताका बेला सत्ता साझेदारीको गोप्य भनिएको सहमतिपत्र ठ्याक्कै त्यसैबेला बाहिर आएपछि धेरैको मनमा झस्को पसेको छ । नेपाली राजनीतिमा अस्थिरताको बीऊ रोपिएको त होइन फेरि भनेर एउटा तप्का चिन्तित हुन पुगेको देखिन्छ । यो चिन्तालाई मान्ने हो भने प्रचण्डको कुबेलाको यो बोलीले अस्थिरताको ‘खिल’ गाडिदिएको छ, जुन धेरै वर्षसम्म देश र पार्टीलाई विझाईरहने छ ।

अर्कातर्फ नेपालमा कम्युनिष्ट एकता भएको नरुचाउनेहरु देशले समृद्धितर्फ यात्रा गरेको र देशमा राजीतिक स्थायित्व कायम भएको पचाउन नसक्नेहरु तथा नेपालको राजनीतिलाई अस्थिर बनाई धमिलो पानीमा माछा मार्न सकिन्छ भन्नेहरुका लागि प्रचण्डको यो बोलीले केही सुनपानी छर्के जस्तै बनेका हुनसक्छन् । तर, राष्ट्रवादी जनता भने यसबाट सशंकित र चिन्तित बनेका छन् । नेपालमा कुनै न कुनै कार्य कायम राखिरहने र त्यसकै आधारमा यहाँ दबाब र तनाव बनाइरहने नीतिको एउटा कडीको रुपमा देखा परेका थिए–सीके राउत ।

प्रधानमन्त्री ओलीको सुविचारक र सचेततापूर्वक अग्रसरताले त्यो कार्ड अहिले निस्क्रिय भएपछि विप्लवलाई कार्ड फ्याँकिएको त छैन भन्ने राजनीतिक वृत्तमा शंका उपशंकाहरु उठिरहेका बेला प्रचण्डको यो बोलीपछि झुलबाहिर बसेका लामखुट्टेहरु फेरि सल्बलाउन पुगेका छन् । सवालहरु यति मात्रै छैनन् ।

तत्कालीन नेकपा एमालेका नेताहरुलाई मैले लाइन लगाएर प्रधानमन्त्री बनाएँ भन्ने कथन बारम्बार बताउने प्रचण्डलाई यो गुणको पैचो चाहिएको कुरा बुझ्न कठिन छैन । त्यसो त २०६५ सालमा तत्कालीन नेकपा एमालेले उनलाई गिरिजाप्रसाद कोइराला र उपेन्द्र यादवहरुसँगै लाइनमा कुराउन सक्दथ्यो भन्ने कुरा विर्सनु हुँदैन । त्यसो त गुणको पैंचो, पानीको पैंचो वा पीठोको पैंचो जस्तो रुपमा लिने कि विज्ञापनको विषयका रुपमा अघि बढाउने त्यो बेग्लै विषय पनि बनाउन सकिन्छ ।

चुनावताका साझा घोषणा पत्रमार्फत रोपेका विरुवा हुर्काउने, देखेका सपनालाई मूर्तरुप दिने र परिकल्पनालाई व्यवहारमा लागू गर्ने सन्दर्भमा नेकपाकै अध्यक्ष ओली नेतृत्वको यो सरकार जुटिरहेका बेला आएका यस्ता अभिव्यक्तिले अस्थिरता बढाउन मलजल गर्छ भन्ने कुराको हेक्का राख्न जरुरी छ । भलै यी कुरा असल नियतका साथ वा सोचविचार नगरी आएका पनि हुन सक्छन् ।

जब यात्रा गरिरहेको जहाज प्वाल पर्छ तब डुब्नबाट कोही जोगिदैन । विमर्श र बहस गर्ने ठाउँ धेरै होलान् तर गर्नैपर्ने पार्टी एकताका धेरै कामहरु अझै बाँकी छन् । समयमै पूरा गर्नुपर्ने कामहरु ढिलो ढिलो कछुवा गतिमा भइरहेका छन् । यसले गर्दा कार्यकर्ताहरु मौनताको पट्टी लगाएर बस्न बाध्य छन् । बदलिंदो व्यवहारको बर्को ओढेर मौनतासँगै असहाय र निरीह बनाएर कार्यकर्ताको भावनामाथि खेल्ने कोशिस भयो भने कार्यकर्ताहरुसँग फगत गुनासा मात्रै रहने छैनन् आक्रोशको ज्वाला पनि निस्कन सक्छ भन्ने कुरा कसैले विर्सनु हुँदैन ।

पार्टी एकतासम्बन्धी कामहरु पूरा नहुँदा पार्टी कामले गति लिन सकिरहेको छैन । गर्नुपर्ने काम प्राथमिकतामा नराखिदा नयाँ नयाँ समस्याहरु देखा पर्दैछन् । पार्टीका अङ्ग र अवयवहरु अपुष्ट छन् । अहिले मुख्य कार्यभार भनेको घोषणापत्र अनुसार सरकारले आफना कामहरु दृढताका साथ अघि बढाउने र पार्टी एकतासम्बन्धी कार्य सबै पूरा गर्नु नै हो ।

तर यसबाट बरालिएर यसको ठाउँमा ऊ र उसको ठाउँमा ऊ मात्रै बदल्ने खेलमा फसियो भने जनताको भावना र मर्ममाथि भद्दा मजाक शिवाय केही हुँदैन । यदि यस्तै कार्यशैली बढ्दै गए जनता र कार्यकर्ताले भविष्यमा फैसला त गर्ने नै छन् । तसर्थ नेकपाले नेपाल र नेपालीको मुहार बदल्न बोकेको विराट सम्भावना र कार्यकर्ताहरुको सपनामाथि कसैले खेलवाड नगरौं राम्रा कामलाई गलत अभ्यासबाट नगरौं, नरोकौं । एकताको मर्मलाई सम्मान गर्दै अघि बढौं ।

पार्टी एकताको मर्म र जनताको भावना अनुरुप अघि बढ्यौं भने घुमिफिरी शीर्ष तहकै नेताहरु नै हो बागडोर सम्हाल्ने । किन आत्तिनु पर्‍यो ? किन सिंगौरी खेल्नु पर्‍यो ? किन जुँगाको लडाई लड्नु पर्‍यो । १५ महिना पछि को के हुने भनेर अहिले नै किन औला भाँचेर बस्नु पर्‍यो । पार्टी रहे, पार्टीमा कार्यकर्ताको विशाल पंक्ति रहे, जनताको अपार समर्थन प्राप्त रहि रहे आलोपालो आइहाल्छ, रुँदै हिंड्नु पर्दैन । तर, पार्टी कमजोर भयो र कार्यकर्ताहरु तिरस्कृत भए, जनताको भावनामाथि ठेस पुग्यो भने भन्न सकिंदैन ।

जुन कुरा नेतृत्वले हमेसा हेक्का राख्नुपर्छ । त्यसैले नेकपाको भविष्यमा कमरेड प्रचण्ड नेपाली महाथिर बन्ने अवसर गुमाउन हुँदैन । अहिले सरकारलाई अस्थिर बनाउनु भनेको पार्टीलाई कमजोर बनाउनु, वितृष्णा बढाउनु र प्रकारान्तरले बामपन्थी सरकारको औचित्यतामाथि प्रश्न उठाउने मानक स्थापित गर्न खोज्नु जस्ता विषय बलशाली बन्न पुग्नेछन् । त्यसैले नेताहरुले बरालिएको मनलाई संयमित राख्नु पर्दछ । शीर्ष नेताहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन ।

सरकार र पार्टीको गतिविधि तीव्रताका साथ अघि बढाउन गियर बदल्न जरुरी छैन । यस विषयमा सघन छलफल, बहस हुनुपर्दछ । खबरदारी पनि गर्नुपर्छ । स्वस्थ आलोचना सुन्नु पनि पर्दछ । आफ्नो जिम्मेवारी र वोध के हो ? भन्ने कुरा सबैले बुझ्नुपर्छ । एक्लै हिंडेर कोही कतै पुग्दैन । नत कसैलाई निषेध गरेर नै अघि बढ्न सकिन्छ । मूलतः पार्टीका दुई अध्यक्ष खुला ह्दयका साथ काँध फेर्ने होइन काँधमा काँध मिलाएर पार्टी एकताको स्प्रिड र जनभावना अनुरुप अघि बढ्नुको विकल्प छैन । प्रचण्ड कमरेडका लागि नेकपामा उज्यालो र सुदूर भविष्य छ ।

तसर्थ कमरेड प्रचण्ड नाङ्लो हुने कि चाल्नो हुने भन्ने विषय गम्भीरतापूर्वक लिनुपर्दछ । नाङ्लोले असल चिज राख्छ र कुँडाकर्कट अर्थात् नराम्रो चिज फ्याँक्छ । चाल्नोले असल चिज छिराउँछ, नचाहिने चिज मात्र संग्रह गर्छ ।
अन्त्यमा,
शहीदको रगतले के भन्छ हामीलाई
सही बाटो हिंड्दैछौ कि भुल्यौ दाजुभाइ ?

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार १२:०४
प्रतिक्रिया दिनुहोस्