७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सभासद्लाई ‘संविधानसभा पदक’ प्रदान


१६ जेठ, काठमाडाैँ । सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिने छ । बिहान एक चरणको पदक वितरणको कार्यक्रम सकिएको र दिउँसो दोस्रो चरणको कार्यक्रम सञ्चालन हुनेछ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पु¥याएबापत सभासद्लाई सम्मान गरिएको हो । पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिला नम्बरमा हुनुहुन्छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

पदक लिन सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालसमेत शीतल निवास पुग्नुभएको थियो । पदक लिन शीतल निवासमा संविधानसभाका सभासद्को उल्लेख्य सहभागिता रहेको थियो । नेपालको इतिहासमा पहिलोपटक विसं २०६४ चैत २८ गते र विसं २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार १३:३२