१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीका १३७ सदस्य पदाधिकारीद्वारा सपथग्रहण


१२ जठ, ओखलढुंगा ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगा जिल्ला कमिटीका १३७ सदस्य पदाधिकारीले सपथग्रहण गरेका छन् । आज एक कार्यक्रमबीच नेकपा जिल्ला सङ्गठन कमिटीका अध्यक्ष, सचिव र सदस्यहरुले सपथग्रहण गरेका हुन् ।

प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यले जिल्ला सङ्गठन कमिटी सदस्यलाई सपथग्रहण गराउनुभएको हो । पूर्वएमालेका ६८, पूर्वमाओवादी केन्द्रका ५८ र बाँकी अन्य गरेर उक्त जिल्ला कमिटीको घोषणा गरिएको थियो । जिल्ला कमिटीमा पूर्वएमालेको जिल्ला कमिटी सदस्य, पूर्वमाओवादी केन्द्रका जिल्ला कमिटी सदस्यहरु र केही प्रभावशाली नेताहरु समेटिएका छन् ।

कार्यक्रममा प्रदेश इञ्चार्ज आचार्यले एकतापछि देशभरका कमिटीले पूर्णता पाएसँगै अब सरकारको उपलब्धि देखिने बताउनुभयो । पार्टीको संरचना नहुँदा जनप्रतिनिधिले मात्रै खेल्ने भूमिका अब पार्टीका प्रत्येक पदाधिकारीको काँधमा आएकाले सरकारका काम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले एकताले ढिलै भए पनि पूर्णता पाएकाले विकासका काम गर्न सहज हुने बताउनुभयो । नेकपाका आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडाले पार्टी एकतापछि जनताको भावनाअनुरुप काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । पूर्वसांसद बालकृष्ण ढुङ्गेल, जिल्ला कमिटी अध्यक्ष मोहन खड्का, पार्टीका जिल्ला सचिव मोहन श्रेष्ठलगायतले एकता भएको लामो समयपछि जिम्मेवारी पाउँदा जिल्लाका नेतामा उत्साह देखिएकामा खुशी व्यक्त गर्नुभएको थियो ।रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार १७:२७