१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु, २० काे अवस्था गम्भीर


११ जेठ, काठमाडौँ । भारतको गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला शुक्रबार आगलागी हुँदा कम्तीमा २० विद्यार्थीको ज्यान गएको छ भने २० विद्यार्थी गम्भीर घाइते छन् ।

भवनकाे माथिल्लो तलामा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी त्यसमै जलेका थिए । आगोबाट जोगिन केही विद्यार्थी भवनको माथिल्लो तलाबाटै हामफालेका थिए । त्यसबाट कतिपयको ज्यान जानुको साथै केही घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

गम्भीर घाइते विद्यार्थीहरुको गुजरातका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भवनको छतमा राखिएका सामग्रीबाट आगो फैलिएको हुनसक्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । तर, प्रष्ट कारण खुलिसकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगमा जुट्न स्थानीय अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार ०८:५०