१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अघि बढ्याे मैलुङ–स्याफ्रुबेँसी सडकमा सुरुङ बनाउने प्रस्ताव, ३८ अर्ब लाग्ने अनुमान


११ जेठ, रसुवा । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक खण्डमा सुरुङ बनाउने प्रस्ताव अघि बढाइएको छ ।सुरुङ निर्माणका लागि प्रतिवेदन निर्माण गरेर सडक विभागमा पठाइएको छ । प्रतिवेद अनुसार मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर दूरी रहने र सुरुङ निर्माणको लागि ३८ अर्ब रुपयाँ लाग्ने बताइएकाे छ ।

नेपाली सेनाले १ वर्षअघि ट्रयाक खोलेर योजनालाई हस्तान्तरण गरेको थियो । दुई वर्षभित्र स्तरोन्नतिको काम सकिने गरी प्रक्रिया अघि बढाइए पनि सुरुङ निर्माण गर्ने की स्तरोन्नतिको काम गर्ने भन्नेमा अलमल भएपछि काम सुरु हुन सकेको थिएन ।

सडकको ट्रयाक खोल्ने कार्य २०७५ जेठ ६ गते सकिएको थियो । त्रिदेशीय व्यापार सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन् । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्नु परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार ०८:३२