१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

हतियारको राजनीति असम्भव छः वरिष्ठ नेता नेपाल


१० जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा हतियारको राजनीति असम्भव भएको बताउनुभएको छ । विप्लव नेतृत्वको नेकपालाई इङ्गित गर्दै उहाँले हत्या, हिंसा र चन्दा आतङ्कको राजनीति अव सम्भव नभएको स्पष्ट पार्नुभयो । नेकपाको जिल्ला कमिटीका सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘विप्लव’ नेतृत्वका नेतालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गर्नुभयो ।

विप्लव समूहलालाई संयमतापूर्वक वार्तामा बस्न आग्रह गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो, “हत्या, हिंसा र चन्दा आतङ्कले जनतालाई तर्साउन पाइँदैन, वार्तामा आउनुस् एक ढिक्का भएर अघि बढ्ने प्रयत्न गर्नुस्, हतियारले तपाईंहरुको राजनीति चल्दैन ।”

सम्बोधनका क्रममा पार्टीका जिल्लास्तरीय नेतालाई निर्देशन दिँदै नेता नेपालले कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै चन्दा असुल्ने र पार्टीभित्र गुटबन्दी गर्ने छुट कसैलाई नभएको बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोडिएर अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले जिल्ला कमिटीका १५५ सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज दलबहादुर राना, केन्द्रीय सदस्य एवं सांसद् महेश्वर गहतराजलगायतले जिल्ला कमिटी सदस्यलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।रासस

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार २०:३८