१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

निजी विद्यालय आफैँ बन्द हुन्छ : प्रधानमन्त्री ओली


जेठ ९, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालय आफैँ बन्द हुने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले तत्काल निजी विद्यालय बन्द नगराउने बताएका छन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी क्षेत्रका विद्यालय आफै बन्द हुने बताए ।

काठमाडाैँमा बिहीबारबाट सुरु भएको हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको स्तरमाथि उठाएपछि निजी क्षेत्रमा पढाउन कसैले पनि नलैजाने बताएका हुन् । तर सरकारी विद्यालयले गुणस्तरीय शिक्षा नदिएसम्म निजी विद्यालय चलाउन पाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘प्रतिस्पर्धाको जवाना छ । मैले निजी क्षेत्रलाई भनेको छु–निजी क्षेत्रलाई खतरामा पारिनेछ । सामुदायिक शिक्षालयहरुको स्तर यसरी माथि उठाईन्छ, निजी क्षेत्रको विद्यालयमा पैसा बुझाउन कोही आउँदैनन्,’ प्रधानमन्त्री ओलीको भनाई थियो,‘जब सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय र निःशुल्क हुन्छ, तब निजी क्षेत्रको विद्यालय आफै बन्द हुन्छ ।’

प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई शिक्षामा लगानी बढाउन पनि आह्वान गरे । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानी पर्याप्त नहुने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १७:४३