१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रहरीकाे दस्तुर सङ्कलन केन्द्रमा आगजनी र तोडफोड गरेकाे आराेपी अध्यक्ष रेग्मी धरौटीमा रिहा


९ जेठ, काठमाडाैँ । उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा हुनुभएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उहाँ जिल्ला प्रशासन कार्यालय चितवनमा रु ५४ हजार धरौटी जम्मा गरी रिहा हुनुभएको हो ।

यसअघि पक्राउ परेका तीन जनाले पनि सोही रकम बराबर धरौटी जम्मा गरी रिहा भएका थिए ।सो घटनामा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष गोकर्ण गिरी पक्राउ परी धरौटी राखेर रिहा हुनुभएको थियो ।

घटनाका समयमा लिइएको भिडियोका आधारमा उहाँहरुलाई पक्राउ गरिएको थियो । सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्सट्रक्सन प्रालिले रेग्मीसहित उहाँहरुविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो । सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब रु चार लाखसमेत लुटिएकाले उजुरी गर्नुभएको थियो । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १२:५७