११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना


९ जेठ, काठमाडाैँ । पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।

उहाँका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी मेघ गर्जनसँगै जोडिएर आउने गर्छ । प्रिमनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरिइरहने गर्छ । राति देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि सामान्य बदली भई मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैगरी शनिबार देशका पूर्वी भूभागमा पूर्ण बदली रहने तथा मध्य पश्चिम क्षेत्रका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । अपराह्नपछि देशका पूर्वी भूभागमा मेघ गर्जन र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्री सेल्सियस रहने छ । त्यस्तै आज सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार ११:२४