१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

राष्ट्रपति भण्डारीले गरिन् पहिलो पटक विधेयक संसदमा फिर्ता


८ जेठ, काठमाडौँ । राष्ट्रपति भण्डारीले पहिलो पटक विधेयक संसदमा फिर्ता गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी छन् । राष्ट्रपतिले विधेयकलाई पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएको यो पहिलो हो । यसअघि संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा तत्कालीन राजा वीरेन्द्र शाहले नागरिकता विधेयक फिर्ता पठाएका थिए ।


संविधानको धारा ११३ (२) बमोजिम विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।संविधानको धारा ११३ (२)मा विधेयक पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा पेश भएकोे १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने प्रावधान छ । राष्ट्रपतिले फिर्ता गरेको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने हुन्छ ।

राहदानी विधेयक प्रतिनिधिसभाले १० असोज पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबल भयो । तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार २३:१९