१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विकास र समृद्धिको मार्गप्रशस्त गर्ने कानून आवश्यक छः गृहमन्त्री थापा


८ जेठ, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिको मार्गप्रशस्त गर्नका लागि उपयुक्त कानूनको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल कानून आयोगले ‘जग्गा प्राप्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’बारे आज यहाँ आयोजना गरेको अन्तरक्रियामा गृहमन्त्री थापाले देशको विकास र सुरक्षाका निम्ति कडा कानूनको आवश्यकता रहेकामा जोड दिनुभयो ।

कानून आयोग र कार्यदलले मेहनेतका साथ विधेयक तयार पारेकामा धन्यवाद दिँदै उहाँले रचनात्मक सुझावलाई समेटेर परिमार्जन गर्न आयोगलाई सुझाव दिनुभयो । नेपाली जनताको हित, राष्ट्रको विकास तथा सुरक्षाका दृष्टिले विधेयक महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भूमिसम्बन्धी नीति ठीक ढङ्गले बनाउन नसक्दा वा भएका नीतिलाई कार्यान्वयन गर्न नसक्दा देशको विकासले गति लिन नसकेको जिकिर गर्नुभयो ।

भूनीतिका आधारमा विश्वका विभिन्न देशले विकास गरेको प्रसङ्ग जोड्दै उहाँले स्पष्ट भूनीति भएका देशले सार्वजनिक सुरक्षमा समेत सफलता हासिल गरेको भनाइ राख्नुभयो । गृहमन्त्री थापाले विकासका लागि औद्योगिक क्षेत्र र सुरक्षा प्रतिष्ठान निर्माण आवश्यक रहेको बताउँदै कुनै ठाउँमा बाटो विस्तार, औद्योगिक क्षेत्र, जलविद्युत् निर्माण गर्दा राजनीतिक वा भूमाफियाको चलखेल हुने गरेकाले यसका निम्ति कडा कानून बनाउनु जरुरी रहेको औँल्याउनुभयो ।रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार १४:५९