१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने


८ जेठ, साँखु । तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि शुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११ गते काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णेश्वर बैङ्क्वेटको हलमा कार्याक्रम आयोजना गरेको समितिले जानकारी दिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४०० खेलाडी र ४० अफिसियल सदस्यले सहभागिता जनाउने तोयाकन नेपाल बादोरियो कराँते डो सङ्घका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अजयभक्त श्रेष्ठले जानकारी दिनुभयो । खेल संस्कृतिको विकास गर्दै खेलकूदको माध्यमबाट नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनुका साथै प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको सङ्घका महासचिव अरुणकुमार कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेलकूद मात्र नभएर सोही प्रतियोगिताको अवसरमा हामीले बृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छौँ । कार्यक्रममा सहभागी भएर इच्छुकलाई रक्तदान गर्नसमेत अनुरोध गर्दछौँ ।”

उक्त प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका देशबाट सहभागी हुने आयोजक कमिटीले जानकारी दिएको छ । प्रतियोगितामा काता र कुमिते गरी ३० खेलको विधामा सहभागीले ३० स्वर्ण, ३० रजत र ६० काश्य पदकका लागि मैदानमा उत्रिनेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट हुनेले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । किक बक्सिङतर्फ प्रथम पुरस्कारस्वरुप नगद रु १० हजार, द्वितीय पाँच हजार र तृतीय हुनेले रु तीन हजारसमेत प्राप्त गर्नेछन् । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार ०९:२४