६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

युक्रेनका नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीद्वारा पदबहाली


६ जेठ, काठमाडाैँ । युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोड्यम्यर जेलेन्स्कीले सोमबार पद बहाली गर्नुभएको छ । पद बहालीका अवसरमा संसदमा राष्ट्रपतिको रुपमा पहिलो सम्वोधन गर्दै उहाँले पृथकतावादीहरुसँग भइरहेको द्वन्द्व र आर्थिक समस्या समाधान गर्नेतर्फ आफुले प्राथमिकतासाथ काम गर्ने बताउनुभयो ।

हास्यकलाकार समेत रहनु भएका ४१ बर्षीय जेलेन्स्की युक्रेनको इतिहासमा अहिले सम्मकै सबैभन्दा कान्छो राष्ट्रपति भएको बताइएको छ ।उहाँले द्वन्द्वग्रस्त डोनबस क्षेत्रमा युद्ध विराम गर्नु आफ्नो पहिलो काम हुने पनि संसदमा घोषणा गर्नुभयो । उहाँले सरोकारवालाहरुसँग तत्काल वार्ता थाल्ने पनि बताउनुभयो ।

“हामीले युद्ध गरिरहने होइन, त्यो तत्काल अन्त्य गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “हामी वार्ताका लागि तयार छौँ, वार्ताबाट समस्याको समाधान सम्भव छ ।” उहाँले आफ्नो अर्को मुख्य चुनौती भनेको गुमेको आफ्नो देशको भूमि फिर्ता गराउनु पनि रहेको बताउनुभयो । उहाँलाई विश्वका धेरै देशहरुले बधाई तथा शुभकामना दिएपनि आफ्नै छिमेकी मुलुक रुसले भने बधाई तथा शुभकामना दिएको छैन ।

तिक्ततापूर्ण सम्वन्ध रहेको रुसले विवाद समाधानका लागि जेलेन्स्कीले लिने निर्णयका आधारमा युक्रेनसँगको सम्वन्ध निर्धारण हुने जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले उहाँलाई बधाई तथा शुभकामना नदिनु भएको रुसी विदेश मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार २३:३१