१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

७५ आरोहीले सगरमाथाको चुचुरोमा सफल आरोहण गरे


– सिवी अधिकारी

६ जेठ, काठमाडाैँ । यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत जानकारी आएको र यसको पुष्टि भइनसकेको बताउनुभयो ।

“सगरमाथा आरोहणका शुरुका दिनमा राम्रै प्रगति भएको थियो, बीचमा तीन दिनजति मौसम खराबीले आरोहण हुनसकेको थिएन, आज रातिदेखि आरोहण हुनसक्ने जानकारी आएको छ । यति जनाले सगरमाथा आरोहण गरे भनेर विभागले भन्ने अवस्था छैन तर, पनि हामीलाई एजेन्सीले जानकारी गराएअनुसार ७५ को हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन,”–उहाँले भन्नुभयो ।

सगरमाथाको आधारशिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार धेरै आरोही सगरमाथाको क्याम–२ भन्दा माथि भएको र सबै आरोहीमाथि (सगरमाथाको चुचुरो) तिर लागेपछि यतिखेर आधार शिविर शून्यजस्तो भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १७:०१