६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई


 ६ जेठ, ओखलढुङ्गा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली नागरिकका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभएको छ । रुम्जाटारबाट राजधानी फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासको अभावमा नेपाली नागरिकले भोग्नुपर्ने दुःख अब सकिएको बताउनुभएको हो ।

केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुनेमा जोड दिँदै मुख्यमन्त्री राईले भन्नुभयो, ‘घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको सुविधा नागरिकको चाहनाबमोजिम हामी उपलब्ध गराउने अभियानमा छौँ । समय केही लाग्ला तर सबै प्रकारका गरीबी र बेरोजगारी हटाउने अभियानमा हाम्रो ध्यान केन्द्रित छ ।’

देशको विकासका लागि नेपालीबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देश समृद्धिको यात्रामा अघि बढेकाले सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । तीन दिनको यहाँको बसाइपछि राजधानी फर्कनुभएका मुख्यमन्त्री राईले यसअघि रुम्जाटार बौद्ध गुम्बाको उद्घाटन, रुम्जाटार स्मार्टसिटीको सम्भाव्यता अध्ययन, बेलायत रहेका नेपालीको सांस्कृतिक तथा सम्मानलगायत कार्यक्रममा सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १४:२५