६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

नेपाल लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस शेयर दिने, बीमाशुल्क आम्दानीमा ३२ प्रतिशत बजारहिस्सा


६ जेठ, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर दिने भएको छ । शनिबार बीरगंजमा सम्पन्न उन्नाइसौं बार्षिक साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२३.५० (कर सहित) वितरणको प्रस्ताव पारित गरेको हो । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक  ५४ अर्ब ९९ करोड ६१ लाख ६० हजार ८ सय १० रूपैयाँ हुनेछ ।

साधारणसभाबाट अार्थिक वर्ष २०७४/०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु स्वीकृत भएको कम्पनीले जनाएको छ । सभामा अध्यक्ष गोविन्दलाल संघईले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजारहिस्सा हासिल गर्न सफल भएको जानकारी दिएका थिए । हाल नेपाल लाइफको लगानी रु ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ ।

कम्पनीमा १,२२,००० भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार ०७:५४