१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मसाल खोज्न दिउँसै लाइट बाल्नुपर्ने स्थिति आउँछः सूर्य थापा


६ जेठ, प्यूठान । स्थानीय तहमा मुलुकभर तीन सिटमा सिमित नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु देख्न आउँदो निर्वाचनसम्म दिउँसै लाइट बाल्नुपर्ने स्थिती हुने नेकपा केन्द्रिय सदस्य सूर्य थापाले उद्घोष गरेका छन् । नेकपा झिमरुक गाउँपालिका तीन नम्वर वडा संगठन कमिटीले आहालखोलामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाइ सम्वोधन गर्दै प्रमुख अतिथी थापाले उक्त अभिव्यक्ति दिएका हुन् ।

‘नेकपा जस्तो विशाल पार्टीले झिमरुकको एउटा कुनामा सिमित मसाललाइ प्रतिस्पर्धी पार्टी ठान्नुपर्ने अवस्था चिन्ताजनक जस्तो देखियो’,यूवा नेता थापाले भने,‘अवको निर्वाचनमा यस्तो अवस्था हुनेछैन् ।’ संघीयताको विरोध गर्दै आइरहेको उक्त पार्टी संघीयताकै मर्म अनुसार बनेको सरकारमा टासीरहनु लज्जासपद देखिएको समेत थापाले अभिव्यक्ति दिए ।

प्यूठानमा समेत दिनानुदिन खुम्चिदै गएको राष्ट्रिय जनमोर्चाले अव चाहेर पनि प्यूठानमा चुनाव जित्न नसक्ने उनले बताए । जनताको पिरमर्कालाइ सम्वोधन गर्नेगरी गाउँमा क्रियाशिल हुन् आफ्ना नेता, कार्यकर्तालाइ थापाले आग्रह गरेका छन् । दुइ ठूला पार्टी एमाले र माओवादीको मिलनपछि जिल्लाभरका स्थानीय तहमा नेकपाको स्पष्ट बहुमत भएको बताउदै थापाले यसलाइ अझ बढाउदै लैजान कार्यकर्तालाइ सुझाए । उनले समृद्ध नेपाल, सुखी नेपाली सरकारको नारालाइ सार्थक तुल्याउन गाउँ तहसम्मका नेता, कार्यकर्ताहलाइ कटिवद्ध भएर लाग्न निर्देशन दिए ।

नेकपाको नेतृत्वमा संचालन भएका जिल्लाका स्थानीय सरकारका जनप्रतिनिधीहरुलाइ नेता थापाले जनताको मनमा बस्नेगरी काम गरेर देखाउन समेत आग्रह गरेका छन् ।  पार्टी एकिकरणले पूर्णता पाउदै गएको बताउदै केन्द्रिय सदस्य थापाले नेता कार्यकर्ता नभइ देश बनाउन पार्टी एकिकरण भएको उल्लेख गरे । कार्यक्रमलाइ सम्वोधन गर्दै विशेष अतिथी नेकपा प्रदेश कमिटी सदस्य पित बहादुर एमसीले राष्ट्रिय जनमोर्चाले झिमरुक गाउँपालिकामा जनभावना विरोधी गतिविधि गरिरहेकोप्रति आक्रोश पोखे ।

मसालका जनप्रतिनिधीहरुले विकास निर्माणका गतिविधि आफ्ना कार्यकर्ताहरु छानीछानी गरेको आरोप लगाए । ‘पार्टीको रसिद काटेमा मात्र विकास गरिदिने मसालको फोहोरी राजनीति देखियो’,एमसीले भने,‘गाउँमा विकास ल्याउन मसालै हुनुपर्ने कस्तो बाध्यता हो ?’ सवै जनतालाइ समान आँखाले हेरेर विकास निर्माणका गतिविधि संचालन गर्न उनले जनप्रतिनिधीलाइ आग्रह गरे । जनताको भावना विपरित गतिविधि बढ्दै गएमा जनता चुपचाप सहेर नबस्ने समेत उनले चेतावनी दिए । झिमरुक गाउँपालिकाका जनप्रतिनिधीहरुको गतिविधि नसच्चिएमा जनताले गाउँपालिका घेराउ गर्ने समेत उनले चेतावनी दिए । सकिदै जानथालेको मसालले सानातीना विकासका बजेट छरेर कार्यकर्ता बचाउनमा लागेको उनको आरोप छ ।

कार्यक्रममा झिमरुक गाउँपालिका ३ नम्वर वडा क्षेत्रका अगुवा नेता, कार्यकर्ताहरुको उत्साहजनक सहभागीता थियो । पार्टी एकिकरणपछि झिमरुक गाउँपालिकामा नेकपाको स्पष्ट बहुमत बनेको छ । यसले पनि कार्यकर्तामा बेग्लै उत्साह बढेको देखिन्छ । कार्यक्रममा नेकपा जिल्ला सदस्य हुकुम बहादुर खड्का, झिमरुक गाउँपालिका संगठन कमिटी अध्यक्ष झग बहादुर जिसी, नेता श्रीकृष्ण रिजाल लगाएतले सम्वोधन गर्दै झिमरुक क्षेत्र नेकपामय बन्दै गएको उल्लेख गरे । ३ नम्वर संगठन कमिटी अध्यक्ष धनीराम जैसीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका उपमहासचिव मिलन एमसीले गरेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार ०७:२४