११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

ग्रामीण कृषि सडक सुधारमा प्रदेश सरकारको ३० करोड, नुवाकोटका ८ सडकमा बजेट


५ जेठ, हेडाैँडा । ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा रु ३० करोड विनियोजन गरी कार्यान्वयन प्रक्रियालाई अगाडि बढाएको छ । प्रदेश नं ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको साझेदारीमा उक्त रकम विनियोजन गरेको हो ।

चालू आवको स्वीकृत बजेट बमोजिम विभिन्न कृषिसँग सम्बन्धित सङ्घ, संस्थासँग सम्झौता गरी योजना कार्यान्वयन गरिएको बताइएको छ । मन्त्रालयका अनुसार नुवाकोटमा आठ, सिन्धुपाल्चोकमा आठ, चितवनमा १२, काभ्रेमा ११, ललितपुर र भक्तपुरमा सात, दोलखामा छ, मकवानपुरमा ११, रामेछापमा छ, सिन्धुलीमा ११ र धादिङमा सात कृषि सडक सुधारका लागि योजना स्वीकृत भएको हो ।

मन्त्रालयका प्रवक्ता निर्मल गदालका अनुसार मन्त्रालयले ग्रामीण कृषि सडक सुधार गर्नुपर्ने स्थानको पहिचान गरी प्रस्तावना पेश गर्न कृषिसँग सम्बन्धित संस्थालाई जानकारी गराएको थियो । जसमध्ये ८७ कृषि संस्थालाई छनोट गरी काम गर्न सम्झौता भएको थियो ।

खासगरी वर्षायाममा कृषि उपज सम्बन्धित बजार क्षेत्रमा ल्याउन नसकेको किसानको मेहेनत खेर जाने भएकाले ग्रामीण कृषि सडकको विकासमा जोड दिइएको प्रवक्ता गदालको भनाइ थियो । प्राप्त जानकारीअनुसार प्रदेश नं ३ का १३ जिल्लामध्ये ११ जिल्लामा ग्रामीण कृषि सडकको विकासमा यो लगानी गरिएको हो ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाले अनलाइनमार्फत घटना दर्ताको कार्य शुरु गरेको छ । उपमहानगरपालिकाको वडा नं ६ को कार्यालयबाट घटना दर्ता अनलाइनबाट सर्वप्रथम शुरु भएको हो । नेपाल सरकार केन्द्रीय पञ्जीकरण विभागको व्यक्तिगत घटना दर्ता सफ्टवेयरको प्रयोग गरी पहिलोपटक हेटौँडा–६, की सविना राईको जन्मदर्ता गराई सेवा प्रदान भएको हो ।

अनलाइन घटना दर्ता प्रणाली शुरुआतसँगै अब व्यक्तिगत विवरण अनलाइनमार्फत हेर्न सकिने र घटना दर्तामा कागजविहीन प्रविधिको उपयोग गरिएको वडाका प्रशासकीय अधिकृत आमोद मैनालीले भन्नुभयो । मृत्यु, विवाह, जन्म र सम्बन्धविच्छेदलगायतका विभिन्न घटनाको दर्ता अनलाइनमार्फत शुरु भएको हो । “कार्य प्रक्रिया पहिला झन्झटिलो थियो, अहिले सजिलो भएको छ”, मैनालीले भन्नुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार ०७:२२